
कक्षा ११ को छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुले कुन उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्न पाउने भन्ने सूचना अन्तिम नतिजासँगै प्रकाशन हुने शिक्षा विभागले जानकारी दिएको छ । काठमाडौँ महानगरपालिकाले लिएको परीक्षाको आज प्रारम्भिक नतिजा प्रकाशन भएको छ । यसमा प्राप्त भएको अङ्कमा कसैलाई चित्त नबुझे पुनर्योगका लागि आज र भोलि (साउन २१ र २२) गते २ दिन समय दिइएको छ । यसपछि अन्तिम नतिजा प्रकाशन हुनेछ ।
अन्तिम नतिजासँगै विद्यार्थीलाई योग्यता क्रमका आधारमा आफूले चाहेको विद्यालय र विषय रोज्न अवसर प्रदान गरिनेछ । यसमा दिइने १० वटा शिक्षण संस्थामध्ये उपलब्ध कोटा, योग्यता क्रम र विद्यार्थीहरुको चापका आधारमा भर्ना पाइनेछ । महानगरपालिकाभित्र छात्रवृत्ति प्रदान गर्ने १६६ वटा उच्च माध्यमिक विद्यालय छन् ।
शिक्षा अधिकारी सीताराम कोइरालाले भने, ‘हामीले प्रविधिको प्रयोग गरेर तत्काल प्रक्रिया सकिने र भएका निर्णय तत्काल विद्यार्थी तथा अभिभावकको सूचना पहुँचमा पुग्ने गरी काम गरिरहेका छौँ । प्रारम्भिक नतिजा आएपछि धेरै विद्यार्थीहरुले मैले कुन विद्यालयमा भर्ना पाउँछु भनेर सोधिरहनु भएको छ । उहाँहरुले पुनर्योगको समय सकिएपछि प्रणालीबाट आवश्यक थप जानकारी पाउनु हुनेछ ।’
यसका लागि विद्यार्थीहरुले entrance.kathmandu.gov.np/ मा गएर check your status मा थिचेपछि देखिने पेजमा मागेको विवरण भर्नुपर्छ । विवरण भरेपछि तपाईँले तपाईँ शिफारिस भएका विद्यालयहरुको नाम देख्न सकिनेछ ।
पुनर्योगका लागि विद्यार्थीहरुले एनआइसी बैङ्कको राजस्व खाता नं. ००१२०५००६१४७५०३८ मा १ हजार रुपैयाँ राजस्व बुझाएको सक्कल भौचारसहित निवेदन दिनुपर्छ ।