कोलोम्बो, ३० भदौ - श्रीलङ्काको प्रहरीले शुक्रबार २४ बर्षीय ब्रिटिस पत्रकारको शव फेला पारेको छ । उनी गोहीको आक्रमणबाट मारिएको आशङ्का गरिएको थियो ।

राजधानी कोलोम्बोबाट ३६० किलोमिटर पूर्वमा पर्ने तटीय सहर पानामामा बृटिश पत्रकार पाउल म्याक्लिनको मृत शरीर प्रहरीले फेला पारेका थिए ।
प्रहरीले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार पत्रकार पाउल म्याक्लिनको खुट्टामा पाँच/छ ठाउँमा चोट लागेको थियो । ती पत्रकारको मृत शरीर माटोमा गाडिएको थियो ।
गोहीले बिहीबार अपराह्नमा नै म्याक्लिनलाई आक्रमण गरी मारेको तर उनको शव शुक्रबार मात्र फेला परेको हो– प्रहरीले भनेको छ ।
शुक्रबार पोस्ट मर्टमपछि मात्र ती पत्रकारको मृत्यु गोहीको आक्रमणबाट भएको कारण पत्ता लागेको बताइएको छ ।
ब्रिटिस सञ्चारमाध्यमहरुका अनुसार म्याक्लिन द फिनान्सिएल नामक पत्रिकामा कार्यरत थिए । उनी विदा मनाउनको लागि साथीहरुसँग श्रीलङ्कका पुगेका थिए । रासस/एएफपी