विभिन्न दातासँग सहयोग संकलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ ।
समुद्र सतहदेखि ४ हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीय सहयोग संकलन गरेर गुम्बा निर्माण जुटेका गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउन स्थानीय जुटेका हुन् ।
गुम्बा निर्माण लागत २ करोड बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयको भनाइ रहेको छ । तोक्पेगालामा जन्मिएर अमेरीका पुगेकाले सहयोग संकलन गरेर ४५ लाख रुपैयाँ पठाएपछि गुम्बा निर्माण प्रक्रिया शुरूआत भएको निर्माण समिति अध्यक्ष शेर्पाले बताए । उनका अनुसार गुम्बा निर्माण गर्नका लागि एक जर्मनी नागरिक समेतले ८ लाख सहयोग उपलब्ध गराएको छ ।
मिक्वाखोला गाउँपालिकाबाट २१ लाख उपलब्ध भएको निर्माण समितिले जनाएको छ । गुम्बा निर्माणका लागि अनुमानित २ करोड लागत भए पनि अहिले २५ लाख ऋण रहेको निर्माण शेर्पाले जानकारी दिए । निर्माण कार्यमा कार्यरत मजदुरका लागि ज्याला दिनबाहेक आवश्यक सामग्री खरिदमा भएको खर्च २५ लाख रुपैयाँ ऋण रहेको उनले बताए ।
गुम्बामा राखिने गौतमबुद्धका प्रतिमा भिन्न दाताबाट जम्मा भएको छ । ८ लाखका ३ वटा प्रतिमा, ८ लाख ५० हजार र ५ लाख ५० हजारका १/१ गौतमबुद्धका प्रतिमा दाताबाट उपलब्ध भएका छन् । अन्य आवश्यक पुस्तक र सामग्री समेत दाताबाट उपलब्ध भएको छ ।
समितिका अनुसार यसै आउँदो आर्थिक वर्षको साउनमा गुम्बाको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ । गुम्बा नियमित पूजापाठ, मन्त्र जब गर्नका लागि लामा व्यवस्थापन गर्नका लागि छुट्टै कोष स्थापना गर्ने योजना रहेको निर्माण समिति अध्यक्ष शेर्पाले बताए । उनले भने, ‘गुम्बामा लामा व्यवस्थापन गर्नका लागि देश विदेशमा बसोबास गर्ने दातासँग समन्वय भइरहेको छ । गाउँपालिकाले पनि सहयोग गर्दछ भन्नेमा विश्वास लिएका छौं ।’