
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प नभएको बताएका छन् ।
सदन सञ्चालन र संसदीय समितिका सभापतिहरूको चयन लगायतका विषयमा प्रमुख ३ दलका शीर्ष नेतासँगको सोमवारको दोस्रो बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले आफूले अधिकतम रूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उल्लेख गरे ।
‘आज संसद् बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गम्भीरतापूर्वक छलफल गर्नुभयो तर सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन । भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ,’ सभामुख घिमिरेले भने, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरूबीच सहमति हुनेछ । सहमतिको विकल्प छैन । संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन् ।’
उनले सांसदहरूले प्राकृतिक विपद् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन नपाएकाले दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा आफू उभिँदै आएको जनाउँदै मंगलवार पनि सहमति नभएमा सदनको नियमित कारबाहीमा जाने स्पष्ट गरे ।
सुन तस्करीका विषयमा छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गर्दै आएको छ । सभामुख घिमिरेले आज २ पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेतासँग बैठक गरे पनि ठोस सहमति जुट्न नसकेपछि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगन भएको छ ।