२४ जेठ २०८३, आइतबार

पुस्तकमा ‘अबको नेपाल : सम्भावना र कार्यदिशा’

कात्तिक २०, २०७४
पुस्तकमा ‘अबको नेपाल : सम्भावना र कार्यदिशा’

काठमाडौं, ३० भदौ – राजनैतिक स्थायित्व, सामाजिक न्याय र आर्थिक समृद्धि लगायतका विविध विषयमा ‘अबको नेपालः सम्भावना र कार्यदिशा’ मा बहस गरिएको छ ।

नेपाली संस्कृति, मनोविज्ञान, भौगोलिक अवस्थिति तथा सरकारी नीति जस्ता विभिन्न पक्ष के नेपालको विकासका लागि वाधक हुन् त? आर्थिक, सामाजिक, प्रशासनिक, राजनीतिक तथा भौगोलिक पक्षलाई ‘अबको नेपाल’ मा चर्चा गरिएको छ ।

नेपालमा मौलाएका आइएनजीओ कस्ता हुन् यस्ता संस्थालाई किन बन्द गर्नुपर्छ भनेर पूर्वकानुन सचिव मोहन बञ्जाडेले पुस्तकमा व्याख्या गरेका छन् । त्यस्तै सौरभको ‘अबको राजनीति’ शीर्षकको विश्लेषण पनि कृतिमा समावेश छ । कृति 'अबको नेपाल' मा उपकुलपति प्रा. डा. जीवराज पोखरेलले नेपालको विज्ञान तथा प्रविधिको विकासबारेमा विश्लेषण गरेका छन् ।

त्यस्तै खाद्यसुरक्षा विज्ञ यमुना घलेले खाद्यान्नमा नेपाल कसरी आत्मनिर्भर बन्न सक्छ भन्ने विषयलाई जोडेकी छिन् । चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका पूर्वसहायक डीन प्रा. डा. शरद् वन्तले नेपालको स्वास्थ्य क्षेत्र तथा पूर्वमहान्याधिवक्ता डा. युवराज संग्रौलाले अदालतभित्रको अनियमिता जस्ता विषयमा लेखेका छन् ।

कृति ‘अबको नेपाल’ लाई ६ खण्डमा विभाजन गरी समाजका विभिन्न आयामका बारेमा विश्लेषण गरिएको छ । आलेखमार्फत सीमाविद् वुद्धिनारायण श्रेष्ठले नेपालको उत्पत्तिदेखि हालसम्मको इतिहासको पाटोलाई उठान गरेका छन् । भूगोलविद् प्रा. डा. नरेन्द्रराज खनाल, मानवशास्त्री डा. सुरेश ढकाल, संस्कृतिविद् डिल्ली ओली, नीतिविज्ञ डा. रामचन्द्र आचार्य लगायतका व्यक्तित्वले कृतिमार्फत नेपालको स्थितिको चिरफार गरेका छन् ।

अबको नेपाल कस्तो हुनुपर्छ? सामाजिक, राजनैतिक, आर्थिक लगायतका विचारमा नेपालले कसरी प्रगति गर्न सक्छ लगायतका विषयलाई विभिन्न कोणबाट विश्लेषण गरी तयार पारिएको कृतिलाई शिखा बुक्सले प्रकाशन गरको हो । ‘अबको नेपालः सम्भावना र कार्यदिशा’ लाई पत्रकार योगेश ढकाल र कृष्ण गिरीले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्