०३ असार २०८३, बुधबार

बाढी पहिरोबाट हुने क्षति कम गर्न नेपाली सेना सक्रिय

साउन २५, २०८०
कञ्चनपुर
बाढी पहिरोबाट हुने क्षति कम गर्न नेपाली सेना सक्रिय

सुदूरपश्चिम प्रदेशमा भइरहेको वर्षापछि आएको बाढी र डुबानमा जनधनको क्षति न्यूनीकरणका लागि नेपाली सेनाले सक्रियता बढाएको छ ।

सुदूरपश्चिम पृतनाअन्तर्गत तैनाथ गण तथा गुल्मले कैलाली र कञ्चनपुर लगायतका जिल्लामा डुबान क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्नेदेखि वर्षाका कारण भत्किएका सडक र पूर्वाधार निर्माण एवं मर्मतमा गति दिएको सेनाले जनाएको छ ।

सेनाले दिएको जानकारीअनुसार पृतना कमाण्डबाट खटिएको सैनिक अधिकृतको टोलीले कैलालीको मोहना, कान्द्रा काँडा र पथरिया नदीमा आएको बाढीले भजनी नगरपालिका–८ सुनफाँटा गाउँमा भएको डुबानबाट बुधवार ३५ जनालाई सुरक्षित स्थानमा सारेको छ ।

सो क्षेत्रमा नागरिकको सुरक्षित स्थानमा सार्नका लागि कैलालीको बढैपुरस्थित कालीरक्षा गण (ई) बाट सेनानीले वीरेन्द्र रावतको नेतृत्वमा टोली परिचालन भएको सेनाले जनाएको छ । सो क्रममा भजनी नगरपालिकासितको सहकार्यमा सेनाको टोलीले स्थानीयलाई दैनिक उपभोग्य सामग्री समेत वितरण गरिएको छ ।

उक्त क्षेत्रमा १५० घरधुरी डुबानबाट प्रभावित भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाली सेनाको श्रीदल गुल्म गुल्म भगतपुर ब्यारेकबाट खटिएको सैनिक टोलीले भीमदत्त नगरपालिकामा वर्षाका कारण स्थानीय टंकप्रसाद भट्टको घर डुबानमा परेकाले घरबाट ५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ । 

सेनाले कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी धाममा स्थानीय खोला फटेर धाम क्षेत्रमा पुर्‍याएको क्षतिग्रस्त क्षेत्रमा सम्बन्धित निकायको आग्रहमा मर्मतसम्भार समेत थालिएको छ । सो कार्यका लागि यहाँको सर्वेश्वर गण र गुरुबक्स गुल्मको टोली परिचालित भएको छ ।

डुबानग्रस्त टीकापुर नगरपालिका–६ भर्तापुरमा समेत स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तर गरिरहेको सेनाले जनाएको छ । यहाँ बाढी र डुबानग्रस्त क्षेत्रमा नागरिकको जिउधनको सुरक्षा एवं क्षति न्यूनीकरणका लागि सेना सक्रिय रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्