
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई हाल काठमाडौं–३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी तथा गोरखाको गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौं–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ परेका अर्यालले सरोज गिरीबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै ५० हजार, चौधरीले रुपक बुढाथोकीबाट फ्रान्स पठाइदिने भन्दै २ लाख ५५ हजार तथा पुलामी मगरले जङ्ग गुरुङबाट पोर्चुगल पठाइदिने भन्दै २ लाख ५६ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।