
प्रहरीले काठमाडौंबाट ५२ लाख नक्कली नोट बदामद गरेको छ । शुक्रवार एक हजार दरका ५२ लाख नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
नक्कली नोट बरामद सम्बन्धमा प्रहरीले पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्दैछ । भक्तपुरबाट पनि बिहीवार साँझ १५ लाख नक्कली नोट बरामद भएको छ ।
प्रहरीले बिहीवार साँझ भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट १५ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको थियो ।
नक्कली नोट प्रकरणमा सिन्धुपाल्चोक बलेफी ७ का ४० वर्षीय अर्जुन सुवेदीसहित ९ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकी गाउँबाट बिहीवार साँझ १५ लाख बराबरको नेपाली नक्कली नोट बरामद गरेको हो ।
चाँगु बुढाथोकीगाउँस्थित अर्जुन सुवेदीको डेरामा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए ।
प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ । उनीहरू नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्की छन् ।
यसैगरी नवलपरासीको सराबल गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने पार्वती नेपाली, काठमाडौंको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौंको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौंको समाखुसी बस्ने २४ वर्षीय युवराज राई रहेका छन् ।
थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।