
सिन्धुलीमा आज (शनिवार) दिउँसो भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा जिल्लाको सिन्धुलीमाडी, मरिन, कुसुन्टार र आसपासको क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भारी वर्षासँगै मरिनलगायत स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ । यी क्षेत्र आसपासमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
'पछिल्लो तीन घण्टामा सिन्धुलीमाडी, मरिन, कुसुन्टार र आसपासको क्षेत्रमा भारी वर्षा भएको हुँदा मरिन खोलालगायतका स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले उच्च सतर्कता अपनाऔँ,' महाशाखाले जारी गरेको विशेष सूचनामा भनिएको छ ।
यस्तै, पछिल्लो तीन घण्टामा बर्दियाको राम्भापुर ,चेपांग, गोदनालगायत आसपासका केही स्थानमा समेत भारी भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । खोला तथा नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा रहनेहरूले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।