२९ असार २०८३, सोमबार

तीन लाख रुपैयाँ नगद जित्ने प्रतियोगिता गर्दै कांग्रेस, भदौ ९ गते फाइनल

साउन २७, २०८०
काठमाडौं
तीन लाख रुपैयाँ नगद जित्ने प्रतियोगिता गर्दै कांग्रेस, भदौ ९ गते फाइनल

नेपाली कांग्रेसले 'पोलिसी ह्याकाथन'सम्बन्धी तीन लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सकिने प्रतियोगितात्मक कार्यक्रम घोषणा गरेको छ । कांग्रेस सहमहामन्त्री जीवन परियारले साउन २ देखि १० सम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्रीले पेश गरेको वार्षिक कार्यक्रमअन्तर्गत प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

प्रतियोगितामा नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत विभिन्न पृष्ठभूमिका ४० वर्ष उमेरसम्मका नेपाली नागरिकहरूले भाग लिन पाउने छन् । 

‘हाल विद्यमान केही नीतिहरूले नेपाली युवाले सामना गरिरहेका चुनौती र आवश्यकताहरूलाई सम्बोधन गर्दैनन् । यो नीतिगत अन्तरले राष्ट्रलाई युवा जनसंख्याको प्रतिभा, दृष्टिकोण र ऊर्जाबाट वञ्चित गरेर समग्र र दिगो विकासमा बाधा पुर्‍याउँछ। नेपाली कांग्रेसले देखेको "समुन्नत नेपाल, सम्मानीत नेपाली"को लक्ष्य हासिल गर्न युवाहरूलाई नीति निर्माण र छलफलमा सक्रिय रूपमा संलग्न गर्न अपरिहार्य छ । युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउन नेपाली कांग्रेसले पोलिसी ह्याकाथन आयोजना गर्दैछ । यो पोलिसी ह्याकाथन युवाहरूको ऊर्जा, रचनात्मकता र अन्तरदृष्टि ग्रहण गर्ने संयन्त्र हो,’ कांग्रेसले भनेको छ, ‘यस पोलिसी ह्याकाथनमा सहभागी युवाहरूले सम्बन्धित नीतिगत मुद्दाहरूलाई पहिचान र सम्बोधन गर्न नवीन समाधानहरूको खोजी गर्नेछन्, विचार मन्थन गर्नेछन् । जसमा आफूले उठान गरेका विषयको अवस्था विश्लेषण, नीतिगत समस्या र चुनौती, समाधानका उपायहरू समावेश हुनेछन् । नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थी लगायत विभिन्न पृष्ठभूमिका ४० वर्ष उमेर समूहका नेपाली नागरिकहरूको यस ह्याकाथनको टोलीले भाग लिन सक्नेछन् ।’

नेपालमा, पठाओ जस्ता राइड सेयरिङ प्लेटफर्महरू र फुडमाण्डू जस्ता फुड डेलिभरी तथा अन्य भौतिक वा स्थानीय जिआइजी इकोनोमी रोजगारीका लोकप्रिय उदाहरण रहेकोले थप माध्यमहरूको लागि जोड दिइरहेका कांग्रेसको भनाइ छ । डिजिटल अर्थतन्त्रमा नेपाली कामदारलाई पनि प्लेटफर्म भएकोले कांग्रेसले यो प्रतियोगिता आयोजना गरेको जनाएको छ । 

सहभागिता कसरी जनाउने ?
पोलिसी ह्याकाथनमा दुई विषयहरू समावेश भएको कांग्रेसले जनाएको छ । जसमा जीआइजी इकोनोमी र क्लाइमेट एक्सन रहेको कांग्रेसको भनाइ छ ।

सहभागीहरूले ह्याकाथनको जीआइजी इकोनोमीमा विकासशील जीआइजी अर्थतन्त्रमा नेपालले नीतिगत र नियमनको खाडललाई सम्बोधन गर्न र श्रम संरक्षण गर्नसक्छ, सुनिश्चित गर्न सक्छ, सम्भावना र चुनौतीहरु के के छन्, नेपालले कसरी देशभर जीआइजी अर्थतन्त्रका फाइदाहरू विस्तार गर्न प्राविधिक अन्तर र डिजिटल विभाजनलाई पुरा गर्न सक्छ, इकोनोमीको निष्पक्ष र नैतिक अभ्यासहरूलाई बढावा दिन नेपालले कसरी वृहत नीतिगत रूपरेखा विकास गर्न सक्छ ? भन्नेमा अवधारणा पेश गर्नुपर्नेछ ।   

नेपालको जनशक्तिमा सीप बढाउने, यसमार्फत् अर्थव्यवस्थाको सम्भावनालाई कसरी उपयोग गर्ने, सहभागीहरूले विभिन्न मुद्दाहरूलाई सम्बोधन गर्ने र नेपालमा जीआइजी अर्थतन्त्रको लागि अगाडि बढ्ने तरिकाहरूसहित नीति अवधारणा पेश गर्नुपर्ने कांग्रेसले जनाएको छ । 

त्यस्तै, नेपाल जलवायु परिवर्तनको असरबाट बढी जोखिममा रहेकोले जलवायु परिवर्तनका कारण उत्पन्न भएका अतिवृष्टि अनावृष्टि लगायताका अप्रत्यासित र अन्तर सम्बन्धित चुनौतीका कारण क्लाइमेट एक्सन अपरिहार्यक रहेको कांग्रेसको भनाइ छ । 

सहभागीले क्लाइमेट एक्सन मध्येका जलवायु परिवर्तनका जोखिमलाई न्यूनीकरण गर्न, यसका बाधाहरू पार गरेर र प्रभावकारी कार्यान्वयन गर्न नीतिगत खाडल के छ र कस्ता रणनीतिहरू बढाएर नेपालले कसरी जलवायु वित्त पहुँच बढाउन सक्छ ? नेपालले विपद् जोखिम न्यूनीकरण नीतिहरूका कमजोरीहरूलाई सम्बोधन गरेर कसरी बलियो बनाउन सक्छ ? नेपाललाई फोसिल फ्युल खपतबाट नवीकरणीय र स्वच्छ ऊर्जामा कसरी परिवर्तन गर्न सकिन्छ ? भन्नेमा अवधारणा पेश गर्नुपर्नेछ । 

यी दुई विषयमा अवधारणा पेश गरेपछि कार्यक्रमका दुई चरण रहेको कांग्रेसले जनाएको छ । प्रारम्भिक चरणमा आवेदकहरूले दुई विषयमध्ये कुनै एकमा अवधारणापत्र पेश गर्नुपर्नेछ । अवधारणा तीन हजारदेखि पाँच हजार शब्दको हुनुपर्नेछ । 

अन्तिम चरणमा १० वटा नीतिपत्र छनोट हुनेछन् । प्रत्येक टोलीलाई सल्लाहकार नियुक्त गरिनेछ । छानिएका टोलीको लिखित नीतिपत्रमा आधारित प्रस्तुतिहरू दिनुपर्नेछ । त्यसपछि निर्णायक मण्डलले विजेता घोषणा गर्नेछन् । 

युवा दिवस १२ अगस्ट (साउन २७)बाट आवेदन खुलाइएको छ । यस्तो आवेदन भदौ ३ गतेसम्म दिन सकिनेछ । फाइनलका लागि १० टोली छनोट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ९ भदौमा फाइनल कार्यक्रम हुने कांग्रेसले जनाएको छ । 

प्रतियोगितामा पहिलो हुनेले तीन लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार जित्नेछन् । 

शीर्ष तीन टोलीको अवधाराणापत्र र उत्कृष्ट विचार कांग्रेसमा प्रस्तुत गर्ने जनाइएको छ । कांग्रेसको संसदीय दलभित्र यी नीतिपत्रबारे छलफल हुनेछ । नीति निर्माणका क्रममा कांग्रेसलले यी उत्कृष्ट नीति पत्रलाई ग्रहण गर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्