
भुक्तानी माग गर्दै सिँचाइ विभागमा ताला लगाउन गएका ४६ जना निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जावलाखेलस्थित सिँचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरूलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोसन दाहालका अनुसार सिँचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको हो । प्रहरीले सबै व्यवसायीलाई नियन्त्रणमा लिएर अहिले ललितपुर प्रहरी परिसरमा राखेको उनले बताए ।
'बिहान ९ बजे नै विभाग पुगेर ताला गएका थियौं, १ बजेसम्म धर्ना दिने कार्यक्रम थियो,' उनले भने, 'धर्नामा बसेकै बेला प्रहरीले धरपकड गर्यो ।’
दाहालका अनुसार सरकारले नै काम लगाएको आयोजनाको रकम पाउनुपर्ने माग उनीहरूको छ । ‘जुन निकायले काम लगाएको हो त्यहीँ निकायमा तालाबन्दी र धर्ना गर्ने योजनाअनुसार आज सिँचाइ विभाग पुगेका हौं,' दाहालले भने, 'आजै सडक विभागमा पनि महानिर्देशकको कार्यकक्षमा ताला लगाएका छौं । विभागको गेटमा ताला लगाउन प्रहरीले दिएन ।’ अब भोलि खानेपानी कार्यालयहरूमा ताला लगाउने र धर्नामा बस्ने कार्यक्रम रहेको पनि दाहालले बताए ।
सरकारले काम गरेको बाँकी रकम भुक्तानी नदिएको, निर्माणाधीन आयोजनको म्याद थप नगरेको, महँगीअनुसार मूल्य समायोजन नगरेकोसहित नौ बुँदे माग राखेर निर्माण व्यवसायी एक महिनादेखि नै आन्दोलनमा छन् । हाम्रो माग पूरा नभएसम्म आन्दोलन नरोकिने दाहालले बताए ।