३१ जेठ २०८३, आइतबार

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती

साउन २९, २०८०
कञ्चनपुर
कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका वासिन्दा हुन् कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन, बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । 

उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन् नेपाली गाउँ कुतियाबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो ।

‘खेतीका लागि आफूसँग जमिन छैन, यहाँ जमिन भाडामा लिएर तरकारी गरिरहेको छुँ,’ उनी भन्छन्, ‘यसैबाट घरखर्च चल्छ ।’ शुरूआतमा २ बिघा जमिन भाडामा लिएको उनले बताए ।

महाकाली नदीले जमिन कटान गरेर १ बिघा मात्रै बाँकी राखेको उनको भनाइ छ । परबलका साथै भिण्डी, खुर्सानी, हल्दी लगायतको खेती उनले गरेका छन् ।

‘१२ हजार प्रत्येक वर्ष जमिनको भाडा तिर्छु, तरकारी खेतीमा परिश्रम धेरै लाग्छ,’ उनी भन्छन्, ‘घरपरिवारको खर्च तरकारी खेतीबाटै चलेको छ ।’ भारतीय बस्ती नौजलिया र नेपाली बस्ती कुतियाकबरको भूभाग मात्रै जोडिएको छैन, यहाँका स्थानीयको रोजीरोटी पनि एकआपसमा जोडिएको छ ।

मण्डलजस्ता धेरै भारतीय नागरिक कुतियाकबरमा तरकारी खेतीमा जमेका छन् ।

नौजलियाकै पुलिन बआडले पनि कुतियाबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्छन् । उत्पादित तरकारीलाई बिक्रीका लागि भारतीय बजार तथा महेन्द्रनगरतर्फ लैजाने गरेको उनको भनाइ छ । ‘व्यवसायी बारीमै आएर पनि तरकारी लैजान्छन्, हामी कहिले बिक्रीका लागि भारततिर त कहिले नेपालतिर लैजान्छौं,’ उनले भने, ‘बाढीले ल्याएको बलौटे माटोमा परवल राम्रो उब्जाउ हुन्छ ।’

धान, गहुँ, तरकारी, परवल र बदामको खेती गर्ने गरेको उनले बताए । कुतियाबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पुर्‍याउने गरेको पुलिनको गुनासो छ ।

salt training

कमेन्ट गर्नुहोस्