
काठमाडौं, १ असोज — फिलिपिन्सको सेनाले मरावीमा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) को समर्थनप्राप्त माउटे लडाकुहरूको कमान्ड केन्द्रमाथि नियन्त्रण हासिल गरेको बताएको छ ।

विगत चार महिनादेखि माउटेहरूले मरावीमा कब्जा जमाएका थिए । सुरक्षाकर्मीहरू सडकमा माउटेविरुद्ध भयानक लडाईंमा व्यस्त छन् । आईएसले फिलिपिन्समा दक्षिणपूर्वी एसियाको आधारइलाका बनाउनका लागि मरावीलाई सहयोग गरेको विश्लेषण गरिएको छ ।
शनिवार एउटा मस्जिद र अर्को भवनमा भएको खतरनाक लडाईंपछि लडाकुहरूको नियन्त्रण केन्द्रमा नियन्त्रण लिएको सेनाले बताएको छ ।
‘सेनाको विशाल सफलतापछि आतंकवादी समूह कमजोर भएको छ र उनीहरूको कमान्ड तथा नियन्त्रण केन्द्र कमजोर भएको छ,’ सैन्यप्रमुख एडुआर्डो अनोले एक विज्ञप्ति जारी गर्दै बताए ।
‘फलोअप तथा क्लियरिङ कारवाही जारी रहँदा हामीहरू दुश्मनले आफ्नो नियन्त्रणमा रहेका स्थानबाट हट्ने अपेक्षा गर्छौं तर लडाईंविना उनीहरू हट्दैनन्,’ उनले भने । ‘हामी त्यसका लागि तयार छौं ।’
यो लडाईंमा ८०० भन्दा बढी लडाकु, सरकारी सेना र सर्वसाधारणको मृत्यु भइसकेको छ । हजारौं मानिस घर छोडेर भाग्न बाध्य भएका छन् भने कुनै समयको गतिशील शहरका धेरै भाग ध्वस्त भएका छन् ।
राष्ट्रपति रोड्रिगो डुटेर्टेले हजारौं सैनिक तैनाथ गरेका छन् र त्यस क्षेत्रमा सैनिक कानून लागू गरेका छन् । फिलिपिनो सेनाले लडाकुहरूविरुद्ध अमेरिकाको सहयोगमा हवाई आक्रमण कायम राखेको छ ।
एजेन्सी