
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् ।
अजिरकोट गाउँपालिका २ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’को आज उद्घाटन गर्दै उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट आफू नडराउने बताए । अप्ठेरोमा पार्न खोजे बरू सरकार छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने उनको भनाइ थियो ।
‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं। जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिँदैन’ उनले भने ।

नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने र अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहरणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएकोमा उनले खुशी व्यक्त गरे ।
राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’को मूल ध्येय पनि यही रहेको उनले बताए ।