
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने बताएका छन् ।
उनले भने, “आगामी दिनमा एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार आठ सय मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजनाको निर्माण अघि बढाउने सोच र योजना साथ सरकार अघि बढिरहेको अवस्था तपाईहरू सामु उजागर गर्न पाउँदा मलाई विशेष हर्ष र गर्वको अनुभूति भएको छ।”
नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ठूला र बहुउद्देश्यीय प्रकृतिका आयोजना अगाडि बढाउने सरकारको सोच रहेको बताए ।
बिजुली निर्यातका लागिसमेत स्पष्ट लक्ष्यसाथ सरकार अघि बढिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत् विकासका लागि योगदान पुर्याइरहेको निजी क्षेत्रको उत्पादित विद्युत्समेत खरिद गरिरहेको प्राधिकरणले आफैं वा आफ्ना सहायक कम्पनीमार्फत आगामी दिनमा विद्युत् उत्पादन क्षेत्रमा सशक्त र अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले विगतको ‘लोडसेडिङ’को स्मरण गर्दै त्यसको समाधानका लागि गरिएको प्रयासका बारेमा जानकारी दिए । “प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्न यस रोष्टममा आउँदै गर्दा मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले बर्सातको समयमा पनि बेहोरिरहेको लोडसेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु”, प्रधानमन्त्रीले भने ।
त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पहुँचभन्दा बाहिर रहेको तथ्य स्मरण गरे।