२९ असार २०८३, सोमबार

डलर सञ्चिति १५ खर्ब नाघ्यो, १० महिनाको आयात धान्न सक्ने क्षमता

भदौ १, २०८०
काठमाडौं
डलर सञ्चिति १५ खर्ब नाघ्यो, १० महिनाको आयात धान्न सक्ने क्षमता
फाइल फोटो

गत आर्थिक वर्षमा डलर सञ्चिति २६.६ अंकले बढेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार विदेशी विनिमय सञ्चिति ३ खर्ब २३ अर्ब रुपैयाँले बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० को सोही समयमा २३.१ प्रतिशतले वृद्धि भएर ११ अर्ब ७४ करोड हुन पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भएर १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

२०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।

आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्