२५ जेठ २०८३, सोमबार

ललिता निवास प्रकरणमा मैले कसैसँग उन्मुक्तिको याचना गरेको छैनः बाबुराम भट्टराई

भदौ १, २०८०
काठमाडौं
ललिता निवास प्रकरणमा मैले कसैसँग उन्मुक्तिको याचना गरेको छैनः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले कसैसँग उन्मुक्तिको याचना नगरेको बताएका छन् । उनले हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छानबिनको क्रममा पनि आफूसँग कसैले कुनै सोधपुछ नगरेको भट्टराईको भनाइ छ । 

तर, आफूलाई यो प्रकरणमा जबरजस्ती मुछ्ने काम भइरहेको भन्दै भट्टराईले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

‘केही समययता केही दृश्य–अदृश्य वृत्तबाट चर्चित ललितानिवास जग्गा अपचलन प्रकरणमा मलाई जुन ढंगले जवरजस्ती मुछ्ने, अपराधी झैं दुष्प्रचार गर्ने, सम्बन्धित निकायले कुनै सोधपुछ तथा छानबिन नगर्ने र  उल्टै “उन्मुक्ति दिने” नाटकीय प्रचारवाजी भइरहेको छ त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेका छन् । 

उनले ललितानिवास लगायत सबै ठूला भ्रष्टाचार प्रकरणबारे निष्पक्ष छानवीन होस् र दोषीलाई हदैसम्मको सजाय होस् भन्ने कुरा आफूले निरन्तर उठाउँदै आएको भट्टराईले बताएका छन् ।  

‘मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र  कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन। ललितानिवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैरकानूनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टि गर्न सक्दैन’, भट्टराईको भनाइ छ । 

आफ्नो प्रधानमन्त्रीकालमा प्रक्रियागत ढंगले सम्बन्धित मन्त्रालयबाट आएको प्रस्तावमाथि मन्त्रिपरिषद्ले स्वीकृति दिएको भट्टराईको भनाइ छ । यसबारे आफूले यसअघि नै अख्तियारमा बयान दिएको र आफ्नो धारणा त्यही रहेको भट्टराईले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्