
बुटवलमा युवा उद्यमीको रूपमा आफूलाई स्थापित गराइसकेका थिए किरण ढकालले । फार्मेसी व्यवसायमा जमेका उनमा विदेश जाने चाहना थिएन । यद्यपि, परिवारको इच्छामा उनले 'इलेक्ट्रोनिक डाइभरसिटी भिसा' (इडीभी) भरे । संयोगवश उनलाई डिभी पर्यो । विसं २०७२ मा उनी परिवारसहित अमेरिका उडे । त्यहाँ किरणसहित उनको परिवारले राम्रो आम्दानी र सुख–सयलको जीवन बिताइरहेका थिए । तर, जति अमेरिका बसाइ बढ्दै गयो उनलाई त्यहाँ बस्न मन लाग्ने क्रम भने घट्दै गयो ।
सामाजिक क्षेत्रमा काम गर्दै आएका किरणलाई त्यहाँको व्यस्त जीवन र पैसाभन्दा आफ्नै मातृ भूमिमै कर्म गर्ने चाहना बढ्दै गयो । अनि, अमेरिका नफर्किने गरी डेढ वर्षअघि उनी नेपाल आए । अहिले उनी औषधि र उपचारको क्षेत्रमा रमाएका छन् । उनी औषधि उद्योग र मानसिक अस्पतालको काममा तल्लीन छन् । ऐस–आरामसहितको अमेरिकाको बसाइभन्दा रूपन्देहीको जीवनलाई नै स्वर्ग ठान्छन् ।
‘मैले त्यहाँ (अमेरिकामा) मासिक दुई लाख ५० हजार रुपैयाँसम्म कमाउँथे । त्यहाँ साढे सात वर्ष बस्दा मलाई तीनवटा विषयले चिमोटिरह्यो,’ किरण भन्छन्, ‘सामाजिक वातावरण नहुँदा म सन्तुष्ट हुनै सकिनँ । बाबा–आमालाई स्याहार–सुसार गर्ने बेलामा उहाँहरूलाई छाडेर परदेश बस्दा मन खुसी भएन र अर्को विषय मेरा सन्तानले मेरो देश नेपाल हो भनेर नचिन्ने भए । उनीहरू यहाँ (नेपालमा) आउलान्जस्तो मलाई लागेनँ । श्रीमती पार्वती, छोरी र बाबाआमालाई चित्त बुझाएर मन बाँधेरै नेपाल आएको हुँ ।’
अमेरिका धेरै मानिसको सपनाको देश हो । त्यही भएर नेपालीहरू अमेरिका जान जस्तो बाटो पनि रोज्छन् । किरणलाई अहिले ‘अमेरिका किन छाडेर आएको ?’ भनेर प्रश्न गर्नेलाई उत्तर नदिएर सुखै छैन । सबैलाई उनको एउटै जवाफ हुन्छ, ‘देशको माया !’ यस्तै, ‘सामाजिक क्षेत्रमा काम गर्ने मान्छे त्यहाँ गएर सधैँलाई टिक्न सक्ने रहेनछु,’ किरणको जवाफ हुन्छ ।
विदेशको खुसी र सम्पत्ति क्षणिक हुने किरणको बुझाइ छ । ‘धेरै सम्पत्ति किन ?,’ उनी प्रश्न गर्छन्, ‘थोरै सम्पत्ति कमाएर खुसी हुनु नै ठूलो सम्पत्ति रहेछ ।’
चौतारी हस्पिटल प्रालि तथा मानसिक अस्पताल तिलोत्तमा– ११ का प्रशासकीय अधिकृत रहेका ३९ वर्षीय किरण यहीँ अब अरू उद्यम पनि गर्ने सोचमा छन् । उनी अस्पतालका सञ्चालक पनि हुन् । त्यस्तै उनी ग्रेस फर्मासेटुकल उद्योगका पनि सञ्चालक हुन् ।
देशको मायाले पोलेर नेपाल फर्किएका उनी यहीँ केही गरौँ भनेर लाग्दा पाइला–पाइलामा अवरोध देख्छन् । ‘अमेरिकामा सिस्टम छ । तर, यहाँ केही काम गर्न सरकारी कार्यालय पुग्दा अनेक अवरोध छन् । नेपाल नबन्नुमा राजनीतिक दलको मात्र होइन कर्मचारीतन्त्र पनि उत्तिकै जिम्मेवार देख्छु म त !’, उनी थप्छन् ।
बुटवल उपमहानगरपालिका– ११ शान्तिटोलका ढकालले विद्यालय तह यहाँकै होराइजन माविका गरेँ । एचिभर्स कलेजबाट व्यवस्थापन संकायमा उत्तीर्ण गरेपछि उनको रूचि स्वास्थ्य क्षेत्रतिर मोडियो । मायादेवी टेक्निकल कलेजबाट फार्मेसी पढेर स्नातक गरे । त्यस्तै बुटवल बहुमुखी क्याम्पसबाट हेल्थ र सञ्जीवनी कलेजबाट पब्लिक हेल्थ गरेर दुई तर्फबाट स्नातक गरे । बहुमुखी क्याम्पसमा अध्ययन गर्दा अखिलको राजनीति गर्ने सोच पनि किरणमा नभएको होइन । तर, पारिवारिक कारणले त्यो अघि बढन सकेन । आफूसँगै अध्ययनरत पार्वतीसँग उनले प्रेम विवाह गरे । अनि फार्मेसी व्यवसायतर्फ पनि लागे । नेपाल फार्मेसी संघको केन्द्रीय अध्यक्षसमेत रहेका किरण फेरि फार्मेसी गर्ने सोचमा पनि छन् ।
देशलाई आत्मनिर्भर बनाउन सबै जिम्मेवार हुनुपर्ने धारणा राख्ने उनी सीप भएका र पढेलेखेका व्यक्ति विदेश गएको देख्दा दिक्क लाग्ने बताउँछन् । उनी भन्छन्, ‘अब देश बनाउन पढे–लेखेका र सीप भएका व्यक्तिले देशमै केही गर्नुपर्छ । काम सानो–ठूलो हुँदैन । देशमा उत्पादन भएको जनशक्तिले स्वदेशमै काम गर्ने वातावरण बनेमात्र मुलुक आत्मनिर्भर र समृद्ध बन्छ ।’
नेपाल कृषिप्रधान देशका रूपमा चिनिए पनि धेरैजसो जमिन बाँझो बन्दै गएकोमा किरण दुःखी छन् । ‘धेरैजसो जमिन बाँझो बन्दै गएको छ । काम गर्नेहरू पनि विदेशतिर भौँतारिरहेका छन्,’ उनले थपे । सहर (बुटवल)मा जन्मिएका किरणले गाउँ–घरलाई असाध्यै माया गर्छन् । किरणको परिवार स्याङ्जाको गल्याङबाट चार दशकभन्दा अघि नै बुटवल झरेको थियो ।
उनका अनुसार धेरै युवा विदेशबाट फर्किएर विभिन्न उद्यमहरू पनि गरेका छन् । रूपन्देहीमा पनि उनले कृषि उद्यम गरेका विभिन्न युवाहरूसँग उनले फर्महरूमा पुगेर जानकारी लिने गरेका छन् । उनी त्यस्ता युवालाई नयाँ रूपमा आधुनिक प्रविधिबाट पालन गर्न सुझाव दिने गर्छन् । ‘सबैले व्यावसायिक काम गरे आत्मनिर्भर बन्न सकिन्छ’ उनले भने, ‘म सबै युवालाई आग्रह गर्न चाहन्छु, समाज र देशलाइ नै योगदान पुर्याउनु छ भने व्यवसाय थाल्नुस् ।’
नयाँ सोचका साथ व्यवसाय गर्नेका लागि आफ्नो साथ रहने किरण बताउँछन् । नेपालमै केही गर्छौँ भन्ने सोच लिएका युवालाई सक्दो सहयोग गर्न पनि आफूहरू तयार रहेको उनले प्रतिबद्धता जनाए । युवा पुस्ता व्यवसायिक भएर कृषि पेशामा लागेपछि देश समृद्ध बन्ने उनको विश्वास छ । अमेरिकामा रहँदा पनि किरणले नेपालका लागि काम गरेका थिए । कोरोना भाइरस महामारीको बेला नेपालीहरूलाई मास्क, सेनिटाइजरदेखि औषधिहरू नेपालका घर–घरमा पुर्याएका थिए ।
त्यस्तै, कलाकारद्वय धुर्मुस–सुन्तलीको पहलमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला र बस्ती निर्माणका लागि पनि आफू र अमेरिकामा बस्ने नेपालीबाट १२ लाख रूपैयाँ संकलन गरी नेपाल पठाएको किरण सम्झिन्छन् । साच्चै देशलाई केही परिवर्तन होस् भन्ने चाहने युवाले देशमै संघर्ष गर्नुपर्ने उनको सुझाव छ । लायन्य क्लब अफ बुटवल संसारको बोर्ड अफ डाइरेक्टर / रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको इलेक्ट प्रेसिडेन्टको रूपमा आबद्ध भएर उनी अहिले सामाजिक कार्यमा समेत सक्रिय छन् ।