२५ जेठ २०८३, सोमबार

गोपालमान निवासमा कांग्रेसका पुराना नेताको जमघट

भदौ २, २०८०
काठमाडौं
गोपालमान निवासमा कांग्रेसका पुराना नेताको जमघट

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निवासमा पार्टीका पुराना नेताको जमघट भएको छ । शुक्रवार श्रेष्ठले कुलेश्वरस्थित निवासमा पार्टीका पुराना नेताहरूको जमघट गरेका हुन् । 

छलफलमा कांग्रेसले राष्ट्रिय राजनीतिमा निभाइरहेको भूमिका, विभिन्न भ्रष्टाचार काण्डसहितका विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए । ‘धेरै समय भएको थियो । पुराना साथीहरूसँग जमघट भएको थिएन । पहिलो र दोस्रो सभामुखसहितका पुराना र वरिष्ठ नेतासँग छलफल गर्न बसेका थियौं । छलफलमा अहिलेको जल्दोबल्दो अवस्था र मुद्दाको बारेमा कुराकानी भयो’ श्रेष्ठले भने, ‘राष्ट्रिय राजनीतिमा कांग्रेसले खेलिरहेको भूमिका हुनुपर्ने जति प्रभावकारी नभएकोमा साथीहरूले गुनासो गर्नुभयो । यस्तोमा कांग्रेस कसरी सच्चिन सक्छ भन्नेबारे पनि छलफल भयो ।’

सरकारमा भए पनि राम्रा कुराको जस माओवादी नेतृत्वले लिने तर कांग्रेस साक्षीमात्रै हुनुपर्ने अवस्थाबाट माथि उठ्नुपर्नेबारे पनि कुराकानी भएको उनले जानकारी दिए । 

‘सबैको नेपाली जनता र जनमानसलाई कांग्रेसप्रति कसरी आकर्षण बढाउने, हिजो हामीले गणतन्त्र ल्याउँदा १० वर्षका युवा अहिले २५ वर्षका भइसक्दा उनीहरूलाई कसरी आकर्षण गर्ने भन्नेमा छलफल भयो’ उनले भने, ‘जहिले पनि गठबन्धन सरकार बन्ने तर कहिल्यै पनि पाँच वर्षसम्म चल्न सक्ने स्थिर सरकार नै भएन यस्तोमा संविधानको पुनरावलोकन गरेर भए पनि स्थिर सरकार गठनको बाटो खोल्ने हो कि भन्नेमा पनि हामीले परामर्श गर्यौं ।’

यतिखेरको समस्या भ्रष्टाचार नै भएको भन्दै उनले यसलाई निर्मूल नपारेसम्म देश र नागरिकको हित नहुनेबारे छलफल भएको पनि उनले बताए । 

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री होमनाथ दाहाल, पूर्वमन्त्री विपिन कोइराला, पूर्वराज्य मन्त्री चीनकाजी श्रेष्ठ, लोकेश ढकाल–काठमाडौं, हरि अधिकारी–धनकुटा, विनोद भट्टराई–काठमाडौं, निलकण्ठ शर्मा–कास्कीलगायतको उपस्थिति रहेको थियो ।

null

भेटमा सहभागी नेता लोकेश ढकालले देशको चिन्ताजनक स्थिति र कांग्रेस राष्ट्रिय राजनीतिबाट भूमिकाविहीन बन्दै गएकोमा नेताहरूले चिन्ता व्यक्त गरेको जानकारी दिए । 

‘भ्रष्टाचारका एकपछि अर्को काण्डका बीच पछिल्ला श्रृंखलामा कांग्रेस कहाँ छ ? सरकार  सदनमा कस्तो भूमिका निभाइरहेको छ भन्नेबारे छलफल भयो’ ढकालले लोकान्तरसँग भने, ‘धेरै नेताहरूले कांग्रेस सत्तामा भए पनि अलमलमा छ । सरकारको राम्रो कामको जस माओवादीले लिने तर कांग्रेस रमिते र सहयोगी मात्रै देखिएको भन्नेमा नेताहरूले चिन्ता व्यक्त गर्नुभयो ।’

कांग्रेस आफैंलाई बलियो बनाएर लानुपर्नेमा एकपछि अर्को दलसँग टाँसिने हुँदा अस्तित्वमै प्रश्न उठ्ने विषयबाट पनि बच्नुपर्ने खालका सुझाव आएको ढकाल बताउँछन् । 

पार्टीमा देउवाको उत्तराधिकारी हुन चाहे पनि कुनै भूमिका नपाएपछि श्रेष्ठ असन्तुष्ट रहँदै आएका छन् । उनले खुलेर पार्टी सभापतिको विरोध गरेका छैनन् । तर १४ औं महाधिवेशनदेखि नै आफूलाई छायाँमा पारेपछि श्रेष्ठ असन्तुष्ट रहेको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्