
काठमाडौं, १ असोज — उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र परीक्षण गरेपिच्छे अमेरिकाको नाम उच्चारण गर्छ । अमेरिका पनि उत्तरलाई धम्क्याइबस्छ र संसारका अन्य मुलुकमार्फत उसमाथि प्रतिबन्ध लगाउँछ ।

किन यिनीहरू यस्तो कट्टर शत्रु भएका हुन् ?
यो शत्रुताको कथा सन् १९१० बाट शुरु हुन्छ । त्यसबेलादेखि सन् १९४५ सम्म कोरियामा जापानको कब्जा थियो । सन् १९४५ मा दोस्रो विश्वयुद्धमा जापान हा–यो अनि युद्ध समाप्त भएपछि कोरियालाई दुई भागमा बाँडियो ।
साम्यवादी रुस र चीन उत्तर कोरियाका सहयोगी भए भने दक्षिण कोरियाको सहयोगी बन्यो अमेरिका ।
सन् १९५० मा उत्तर र दक्षिण कोरियाबीच युद्ध भयो । त्यतिखेर उत्तरमा किम इल सुङको शासन थियो ।
यस युद्धमा अमेरिकाले उत्तर कोरियामाथि ६ लाख ३५ हजारभन्दा बढी बम खसायो । यसकारण उत्तरका गाउँ र शहरहरू ध्वस्त भए र करीब ३० लाख मानिसको मृत्यु भयो ।
यी बमहरूका कारण देशको करीब २० प्रतिशत जनसंख्या सोत्तर भएको थियो ।
त्यतिखेरदेखि नै उत्तर कोरियाले अमेरिकालाई आफ्नो कट्टर शत्रु मान्दै आएको छ ।
यी दुई देशबीचको शत्रुताले तेस्रो विश्वयुद्ध हुने डर उत्पन्न भएको छ ।
एजेन्सी