
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरूले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगाएका छन् । प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टीकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै उनले रोष प्रकट गरे । पार्टीको काठमाडौं महानगरपालिका समितिद्वारा आज आयोजित कार्यक्रममा थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो संघीय गणतन्त्रका नाममा अहिले मुलुकमा कायम व्यवस्थाको नै अन्त्य हुन जरुरी भएको बताए ।
राप्रपा नेपाल भविष्यमा सत्ता केन्द्रित होइन नभएर जनता केन्द्रित भएर अगाडि बढ्ने सड्ढल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेकोसमेत थापाले जानकारी दिए । मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको उनले आरोप लगाए ।
यस्तै, बेरोजगारी, धर्म परिवर्तन र महङ्गीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै थापाले सत्ताकेन्द्रित फोहरी खेलले विधिको शासनको उपहास भएकोसमेत जिकिर गरे ।
कार्यक्रममा नेताहरू तारानाथ लुइँटेल ,श्याम घिमिरे, राजकुमार खड्का, दिवेश नापित लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न नवप्रवेशीलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका थिए ।