
भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो ।
गाउँपालिकाले स्थानीयरूपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै बाहिरबाट आउने सामग्रीको प्रयोग घटाउने उद्देश्यले यो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए ।
तत्काललाई गाउँपालिका र सोअन्तर्गतका सङ्घसंस्था, विद्यालयलगायत अन्य निकायले आयोजना गर्ने कार्यक्रममा आयातित खादा, ब्याच र माला प्रयोग नगर्ने कार्यकालिका बैठकले निर्णय गरेको प्रशासकीय अधिकृत अधिकारीले बताए ।