
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यहरू भोलिको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन उनीहरू अनुपस्थित हुने भएका हुन् ।
कोशी प्रदेशमा राप्रपाका ६ जना सांसद छन् । उनीहरूलाई बैठकमा अनुपस्थित हुन पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएका छन् ।
पाटीको निर्देशन आएकै कारण भोलिको बैठकमा सहभागी नहुने राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले बताए । ‘संघीयताका पक्षधर भन्ने दल एमाले र कांग्रेस मिलेर सरकार बनाउन भन्ने हाम्रो चाहना हो,’ विष्टले भने, ‘हाम्रो भावनाअनुसार नभएकाले हामी उपस्थित हुँदैन । हामीलाई केन्द्रले पनि उपस्थित नहुन निर्देशन दिएको छ।’
राप्रपा संसदीय दलका नेता भक्ति सिटौला भने भारतको दिल्लीमा छन् । भोलि बस्ने बैठक छल्ने योजना बनाएर नै उनी भारत गएका निकटस्थहरु बताउँछन् ।
यसअघि राप्रपा अध्यक्ष लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल शुरु गरेको र १० करोडको अफर आएको बताएका थिए ।
‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त,’ लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।
प्रदेशमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी ९३ सांसद छन् ।
बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा एकातिर हुँदा पनि ४६ र इतर दलका सबै सांसद जोड्दा ४७ सांसद छन् । कांग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठबन्धनले उद्धव थापाको नेतृत्वमा सरकार बनाएको छ ।
थापा नेतृत्वको सरकारले भोलि विश्वासको मत लिँदैछ । विश्वासको मत लिने समयमा प्रदेशसभाको सभाध्यक्ष सत्ता गठबन्धनले गर्नुपर्ने परिस्थिति निर्माण भएको अवस्थामा भने बहुमत ४७ पुर्याउन १ सांसद अभाव देखिन्छ ।