
सोमवार (भोलि) बस्ने कोशी प्रदेशसभा बैठकमा नेकपा एमालेका ७ जना जेष्ठ सदस्यहरू अनुपस्थित हुने भएका छन् । उद्धव थापाले विश्वासको मत लिने बैठकमा उनीहरू अनुपस्थित बन्ने भएका हुन् ।
प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित रहन सक्ने चर्चा चलिरहेको छ । यहीबेला एमालेका सांसदहरू रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल, ज्ञानेन्द्र सुवेदी अनुपस्थित हुने भएका हुन् ।
कार्की ७१ वर्षका हुन भने लिम्बू र महतो ६७/६७ वर्षका हुन् । ढकाल ६६ वर्षकी हुन् भने बस्नेत ६७, दुलाल ६५ र सुवेदी ६४ वर्षका हुन् । घरायसी समस्याका कारण बैठकमा उपस्थित हुन नसक्ने भन्दै उनीहरूले प्रदेशसभा सचिवालयमा पत्र पठाएका सचिवालयले जनाएको छ ।
प्रदेशसभामा सभामुख पद खाली छ । उपसभामुखले सभा नचलाए जेष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ ।
प्रदेशसभामा सभामुख र उपसभामुख चयन नभएको अवस्थामा जेष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ ।
प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मण्डललाई यसअघि मुख्यमन्त्री थापाले राज्यमन्त्री बनाइसकेका छन् । मण्डल पछिका सत्ता गठबन्धनका जेष्ठ सदस्य उद्धव थापा मुख्यमन्त्री छन् ।