काठमाडौँ, १ असोज– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सोमबार प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाका बारेमा कुराकानी भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल भएको हो ।
‘प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारको कामकारबाही प्रभावकारी बनाउन आग्रह गरे, प्रचण्डका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले भने ।
यस्तै प्रधानमन्त्री देउवाले यही असोज ३ गतेदेखि संयुक्त राष्ट्र संघको महासभामा सहभागिताका लागि गर्न लागेकोमा संयुक्त राज्य अमेरिकाको भ्रमणको विषय र नेपालले उठाउनुपर्ने विषयमा समेत दुई नेताबीच छलफल भएको थियो ।
त्यस्तै प्रदेश र संघीय निर्वाचनको तयारीका विषयमा समेत सो अवसरमा सामान्य कुराकानी भएको बताइएको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनको व्यस्तताका कारण सरकार सञ्चालनलगायत विषयमा दुई दलका बीचमा छलफलसमेत हुन नपाएका सन्दर्भमा आज नेपाली काँग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।