
चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज (सोमबार) बिहान बस्ने भएको छ । आइतवार साँझ ६ बजे बस्ने भनिएको बैठक आज बिहान साढे ७ बजे बस्ने गरी तोकिएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।
यसैगरी उक्त बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको दुई महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो ।
मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।