११ साउन २०८३, सोमबार
मुख्यमन्त्रीले विश्वासको मत लिँदै

फेरि संकटमा कोशी सरकार: एमालेका ज्येष्ठ सदस्य अनुपस्थित हुने, बैठकमा नजान राप्रपाको निर्देशन

भदौ ४, २०८०
काठमाडौं
फेरि संकटमा कोशी सरकार: एमालेका ज्येष्ठ सदस्य अनुपस्थित हुने, बैठकमा नजान राप्रपाको निर्देशन

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन् । साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन् । 

विश्वासको मत लिन थापाले शुक्रवार प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए ।

गठबन्धनसँग बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ । 

कोशीमा गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (.राप्रपा)का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् ।

आज बस्ने कोशी प्रदेशसभा बैठकमा नेकपा एमालेका ७ जना जेष्ठ सदस्यहरू अनुपस्थित हुने भएका छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने बैठकमा उनीहरू अनुपस्थित भएका हुन् ।

एमालेका सांसदहरू रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल, ज्ञानेन्द्र सुवेदी अनुपस्थित हुने भएका हुन् ।

कार्की ७१ वर्षका हुन भने लिम्बू र महतो ६७/६७ वर्षका हुन् । ढकाल ६६ वर्षकी हुन् भने बस्नेत ६७, दुलाल ६५ र सुवेदी ६४ वर्षका हुन् । घरायसी समस्याका कारण बैठकमा उपस्थित हुन नसक्ने भन्दै उनीहरूले प्रदेशसभा सचिवालयमा पत्र पठाएका सचिवालयले जनाएको छ । 

प्रदेशसभामा सभामुख र उपसभामुख चयन नभएको अवस्थामा जेष्ठ सदस्यले बैठक सञ्चालन  गर्ने व्यवस्था छ ।​

प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मण्डललाई यसअघि मुख्यमन्त्री थापाले राज्यमन्त्री बनाइसकेका छन् । मण्डल पछिका सत्ता गठबन्धनका जेष्ठ सदस्य उद्धव थापा मुख्यमन्त्री छन् ।

राप्रपाका प्रदेशसभा सदस्यहरू आजको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन उनीहरू अनुपस्थित हुने भएका हुन् । 

कोशी प्रदेशमा राप्रपाका ६ जना सांसद छन् । उनीहरूलाई बैठकमा अनुपस्थित हुन पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएका छन् ।

पाटीको निर्देशन आएकै कारण आजको बैठकमा सहभागी नहुने राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले बताए । ‘संघीयताका पक्षधर भन्ने दल एमाले र कांग्रेस मिलेर सरकार बनाउन भन्ने हाम्रो चाहना हो,’ विष्टले भने, ‘हाम्रो भावनाअनुसार नभएकाले हामी उपस्थित हुँदैन । हामीलाई केन्द्रले पनि उपस्थित नहुन निर्देशन दिएको छ।’

राप्रपा संसदीय दलका नेता भक्ति सिटौला भने भारतको दिल्लीमा छन् । आज बस्ने बैठक छल्ने योजना बनाएर नै उनी भारत गएका निकटस्थहरू बताउँछन् । 

यसअघि राप्रपा अध्यक्ष लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल शुरू गरेको र १० करोडको अफर आएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्