२६ असार २०८३, शुक्रबार

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

भदौ ४, २०८०
विराटनगर
विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिनेगरी संसद् सचिवालयले सूचना प्रकाशन गरेको छ । विश्वासको मत लिन आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । 

बैठकको कार्यसूची तय गर्न उपसभामुख सिर्जना दनुवारले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको संसद् सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए । उनका अनुसार कार्यव्यवस्था परामर्श समिति बैठक बिहान ८ बजे बस्ने छ । 

प्रतिपक्षी दल एमाले र राप्रपाले भने थापालाई विश्वासको मत प्राप्त हुन नदिन उपसभामुख दनुवारलाई अनुपस्थित गराउने रणनीतिमा छन् । तर, अहिलेसम्म उनी बिदा बस्नेबारे कुनै जानकारी नआएको प्रवक्ता अमात्यले बताए । 

यसअघि नै एमालेले आफ्ना ज्येष्ठ ७ र राप्रपाले २ जना जेष्ठ सदस्य सांसदहरूलाई बिदामा राखेको छ । राप्रपाका सांसदलाई अध्यक्ष राजेन्द्र लिङदेनले अनुपस्थित हुन निर्देशन दिइसकेका छन् । 

सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा सञ्चालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई विश्वासको मत लिन १ सांसद अपुग हुने देखिन्छ  । 

एमालेले आजै उपसभामुखलाई राजीनामा गराउने वा बिरामीको बाहानामा अनुपस्थित गराउन सक्ने अनुमान हुन थालेको छ । 

कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।

हाल कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्