१० साउन २०८३, आइतबार

दुई महिनाभित्र परिवार नियोजन संघको पुनर्संरचना, अध्यक्षले गरे यस्तो घोषणा

कात्तिक २०, २०७४
दुई महिनाभित्र परिवार नियोजन संघको पुनर्संरचना, अध्यक्षले गरे यस्तो घोषणा

काठमाडौं, १ असोज– नेपाल परिवार नियोजन संघ ५९ वर्षमा प्रवेश गरेको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र परिवार नियोजनको अस्थायी साधन प्रयोगको उद्देश्यसहित ५८ वर्षअघि विस २०१६ साल असोज २ गते नेपालको पहिलो महिला मन्त्री द्ववारिकादेवी ठकुरानीको अगुवाईमा यसको स्थापना भएको हो ।

५९औं स्थापना दिवसका अवसर आइतबार संघको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरियो । जहाँ उत्कृष्ट स्वयंसेवक र कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरियो ।

को को भए पुरस्कृत ?

कार्यक्रममा उत्कृष्ट स्वयंसेवकतर्फ परिवार नियोजन संघ कञ्चनपुर शाखाका पूर्वसभापति प्रकाश बोगटी, नवलपरासी शाखाकी लोमाकुमारी खनाल वाग्ले, उपत्यका शाखाका रामप्रसाद आजख्या, उत्कृष्ट युवा स्वयंसेवकतर्फ अनुप सिजापतिलाई सम्मानसहित पुरस्कृत गरियो ।

त्यस्तै, उत्कृष्ट कर्मचारीमा सुदूरपश्चिमको विकट बैतडी शाखाबाट कृष्णदत्त अवस्थी, रुपन्देही शाखाकी पदमा श्रेष्ठ, पाल्पा शाखाका शोभाकान्त न्यौपाने पुरस्कृत भए । पुरस्कृत हुने स्वयंसेवक र कर्मचारीलाई अर्थराज्यमन्त्री उदयसम्शेर राणा, परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमु सिजापति, कार्यकारी निर्देशक महिमा पौडेल लगायतले दोसल्ला ओडाएर ताम्रपत्र प्रदान गरे ।

संघलाई दुई महिनाभित्र पुनर्संरचना गर्छुः अध्यक्ष सिजापति

कार्यक्रमलाई सम्बोधन गर्दै परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमु सिजापतिले दुई महिनाभित्र संघको पुनर्संरचना गरेर नेतृत्वबाट बाहिरिने घोषणा गरिन् । ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकारको नारासहित उपत्यका, काभ्रे र जनकपुर शाखाबाट सुरु भएको हाम्रो संस्था आज देशभर प्रभावकारी सेवा दिइरहेको छ,’ उनले भनिन्– ‘भूकम्पपछि हामीले विपद् सेक्टरमा काम थालेका छौं । भर्खरै बाढी पहिरोबाट ग्रसित तराईमा घुम्ती शिविर सञ्चालन गरिरहेका छौं । झण्डै ६ हजारले सेवा लिएका छन् ।’

उनले आगामी दुई महिनाभित्रै संघलाई पुनर्संरचनामा अगाडि बढाउने घोषणा गर्दै अगाडि भनिन्, ‘अब हामी नयाँ तरिकाबाट अघि बढ्छौं, शाखा बढाउने होइन् क्लिनिकमा फोकस हुन्छौं । हामीले सेवा दिने हो भने क्लिनिक बढाउनुपर्छ । त्यसका लागि दक्ष जनशक्ति चाँहियो । जस्तै, कास्कीको शाखाले बागलुङको क्लिनिकलाई हेर्न सक्छ । अर्काेतर्फ एउटा शाखा खोल्न १५ देखि २० लाखसम्म न्युनतम खर्च चाँहिन्छ । मैले नेतृत्व लिएको संघले शाखा खोल्ने सार्मथ्य अहिले राख्न सक्दैन् । त्यसैगरी क्लिनिक खोल्न दुईतीन लाख चाँहिन्छ । एउटा शाखा खोल्ने पैसाले ५ वटा क्लिनिक बन्छ । त्यसकारण हामी छिट्टै नयाँ संरचनामा जान्छौं ।’

उनले यौन र तथा प्रजनन स्वास्थ्यका लागि सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएको कुल बजेटको ७ प्रतिशत दिने भनेर प्रतिबद्धता जनाएपनि १ प्रतिशत मात्रै दिएकोमा गुनासो गरिन् । ‘यस वर्ष ३३ अर्ब बजेट स्वास्थ्य मन्त्रालयले पाएको थियो । तर, परिवार नियोजन संघले ३३ करोड मात्रै पायो । यति सानो बजेटमा हामीले थुप्रै काम गर्न सफल भएका छौं । सरकारले यो सेक्टरमा ७ प्रतिशत खर्च गर्ने भनेर प्रतिबद्धता जनाएको थियो । तर, कार्यान्वयन भइरहेको छैन्, सरकारलाई घच्घच्याउनु जरुरी छ ।’

बजेट बढाउन पहल गर्छुः अर्थ राज्यमन्त्री

कार्यक्रमका प्रमुख अतिथि एवं अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले परिवार नियोजन संघको कार्यक्रमले अहिले मानिसहरु फ्याम्ली प्लानिङ गर्न थालेको भन्दै परिवर्तन ल्याएकोमा संघलाई धन्यवाद दिए । उनले फ्याम्ली प्लानिङमा एक प्रतिशत मात्र बजेट दिनु उपयुक्त नभएको बताउँदै ५–६ प्रतिशत पुर्याउनुपर्नेमा जोड दिए । अझै पनि २५ प्रतिशत महिलाले परिवार नियोजन नगरेको तथ्यांक आइरहेको र यो ज्यादै दयनिय अवस्था रहेको भन्दै चेतना र शिक्षा बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री राणाले अहिलेनै यति बजेट दिन्छु भन्न नसक्ने तर यौन तथा प्रजनन स्वास्थ्यका लागि बजेट कसरी बढाउने भन्नेबारे सोच्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पूर्वअध्यक्ष डा भद्रराज पाण्डेले पहिला परिवार नियोजनालाई अश्लील शब्दका लिने समाज, हाम्रो छोरी बुहारीलाई के के सिकायो भन्दै लखेट्ने समाजमा आज यति धेरै परिवर्तन भएकोमा हर्ष व्यक्त गरे । कल्पना अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यकारी निर्देशक महिमा पौडेलले संस्थाको कार्ययोजना र गतिविधि प्रस्तुत गरेकी थिइन् ।

नाफारहित गैरसरकारी संस्था परिवार नियोजन संघका हाल २८ शाखा र ३७ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्