
रुपन्देहीको भगलापुरका पुण्यप्रसाद चौधरी व्यवसायिक माछा पालन र भुरा उत्पादनमा परम्परागतशैलीलाई बदल्ने किसान हुन् । झण्डै साढे दुई दशकदेखि माछासँग साइनो जोडेका युवा किसान पुण्यको शुद्धोधन गाउँपालिका–७ भगलापुरमा शान्ति मत्स्य ह्याचरी रिसर्च प्रालि छ । कृषिमा नयाँ आयाम दिएका उनी अहिले माछाका भुरा उत्पादनमा केन्द्रित छन् । उनले वार्षिक करिब ७ करोड माछाका भुरा उत्पादन गरी बिक्री गर्छन् । लुम्बिनी, गण्डकी प्रदेश र भारतको उत्तर प्रदेशसम्मका किसानहरूलाई शुद्ध नश्लका माछाका भुराहरू उनै पुण्यले पुर्याएका छन् । सानो पुँजी र प्रविधिको क्षमताका उनको लागि ख्याति कमाएर प्रतिस्पर्धामा उत्रिन कम मुस्किल थिएन ।
विस २०५८ बाट माछापालन व्यवसायमा हात हालेका उनको यो क्षेत्रमा लगानी १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । २२ वर्षअघि ३० हजार रुपैयाँ जोहो गरेर माछापालन शुरू गरेका युवा उद्यमी पुण्य नेपालमै निजी क्षेत्रबाट सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्ने व्यक्तिमा पर्छन् । पुण्य विसं २०७० मा राष्ट्रिय स्तरमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी नेपाल सरकारबाट पुरस्कृत भएका थिए । विसं २०७० मा ५५ कठ्ठाको खेतमा पोखरी निर्माण गरी माछाका भुरा उत्पादन शुरू गरेका थिए उनले । शान्त र सरल स्वभावका उनको फर्मसँगै रहेको घरको आगनमा माछा व्यापारी र माछा उत्पादन गर्न चाहने किसानको प्रतिदिन भीड लाग्ने गर्छ ।
पुण्यको फर्मले अहिले वार्षिक ३ करोड रुपैयाँको कारोबार गर्छ । ‘एउटा भुरालाई ५० पैसादेखि १०० रूपैयाँसम्ममा बिक्री गर्छु,’ उनी भन्छन्, ‘यसबाट वार्षिक २ करोड ५० लाखभन्दा बढी कारोबार हुन्छ । मेरो सबै खर्च कटाएर वार्षिक ४० देखि ५० लाख माछाका भुरा बिक्री गरेरै आफ्नै देशमा रमेको छु ।’
अहिले भगलापुर पुण्यकै नामले चिनिन्छ । ह्याचरीले भगलापुर गाउँमा पहिचानसमेत स्थापित गरेको छ । भुरा उत्पादनको व्यापारमा उनले अहिले ठूलो फड्को मारेका छन् । उनको प्रालिमा माउपोखरी र नर्सरी पोखरी छन् । ‘मैले माछापालन शुरू गरेको पाँच वर्षपछि भुरा नर्सरी व्यवस्थापनमा विस्तारै पाइला टेकेँ,’ उनी भन्छन्, ‘मलाई सफलता मिल्दै गयो । अहिले ह्याचरी र नर्सरी दुईवटा सेक्टरमा काम भइरहेको छ । मेरो फर्म सरकारले तोकेको सुपर जोन क्षेत्र हो । सरकारमा पनि धेरै–थोरै सहयोग पाएको छु ।’
पुण्यले अहिले किसानहरूलाई मत्स्य पालनसम्बन्धी ज्ञान र तालिम पनि दिने गरेका छन् । ‘माछासम्बन्धी ए टू जेड सिकाइन्छ,’ उनी भन्छन्, ‘माछापोखरी निर्माण, माछाका भुरा, दाना र प्राविधिक सेवा टेवा सबै दिने गछौं ।’ माछा उत्पादन पेशालाई मत्स्य पर्यटन प्रबद्र्धन विकासमा पनि लैजानुपर्छ भनेर उनले भगलापुरमै सखिया फिस रिर्सोट सञ्चालनमा ल्याएका छन् । रिर्सोटमा माछाका विभिन्न परिकार त खान पाइन्छ नै, त्यहाँ रमणीय वातावरण पनि छ । जसले गर्दा, आन्तरिक पर्यटकहरू आउने गरेका छन् ।
भुरा उत्पादनमा रहेका विभिन्न समस्याहरूलाई चिर्दै पुण्य अघि बढेका छन् । भुरामा विभिन्न रोगको प्रकोप देखिन्छ । अक्सिजन अपुग हुनेजस्ता समस्या समय–समयमा आउने गर्छन् । यसर्थ, नयाँ व्यक्तिलाई भुरा उत्पादनमा गाह्रो हुने उनको अनुभव छ । पुण्यको आगामी दिनमा झनै ठूलो योजना छ । माछाका भुरालाई अझ गुणस्तर किसानहरूसमक्ष पु¥याउने उनको सोच छ । उनले हालै भारतको कलकत्ताबाट प्यारेन्ट माछाका भुराल्याई बिक्री गर्नसमेत थालेका छन् । जसको उत्पादन एकदमै राम्रो हुँदै गएको किसानहरू सुनाउने गरेको भन्दै पुण्य प्रफुल्ल हुन्छन् ।
‘अहिले हामीले किसानलाई एकदमै उन्नत जातका भुरा दिएका छौं । हाम्रोबाट लगेका भुरा तीन महिनामा खान तयार हुन्छन्,’ उनी भन्छन्, ‘यसबाट हामीलाई मनग्य आम्दामी पनि भएको छ । म पूर्ण सन्तुष्ट छु ।’ पुण्यसँग अहिले सात बिगाहा निजी क्षेत्रफलमा दर्जनभन्दा बढी फैलिएका पोखरी छन् । यी पोखरीमा उनले माछा तथा भुरा उत्पादन गर्दै आएका छन् । सिलभर, बिग्हेट, नैनी, ग्रास, भाकुरा, कमल कार्पलगायतका विभिन्न जातका माछा र तिनका भुराको उत्पादन सो पोखरीमा हुँदै आएको छ । आफ्नो फार्ममा ८ जना कामदारले प्रत्यक्ष रोजगारी पाएको उनी गर्व गर्दै सुनाउँछन् । आफ्नो फर्मबाट झण्डै ५ हजार किसानले माछाका भुरा किनेर अन्यत्र बिक्री गर्ने गरेको उनले बताए ।
खान तयार भएका माछा स्वादिलो र पोसिलो हुने गरेको भन्दै मानिस फार्ममै माछा किन्न आउने गरेको पुण्य सुनाउँछन् । उनले माछा वार्षिक २० क्विन्टल उत्पादन गर्छन् ।
‘यहाँ उत्पादन भएका माछा किन्नका लागि विभिन्न ठाउँबाट मानिस आउने गरेका छन,’ उनी भन्छन् । भारत र बंगलादेश लगायत विभिन्न आधा दर्जन देशमा गएर माछासम्बन्धी तालिम र ज्ञान हासिल गर्दै माछा पालनको क्षमता बढाएका छन् ।
माछापालक किसानलाई प्रोत्साहन दिने गरी सरकारले नीति बनाउनुपर्ने पुण्यको माग छ । ‘मुलुकको कृषि क्षेत्रमा धेरै पुर्नसंरचना नहुँदासम्म अहिले यसमा आश्रित जनसंख्यालाई समेत टिकाउने अवस्था छैन,’ उनी भन्छन्, ‘त्यसकारण नेपाली युवाले देशमै कृषि क्रान्तिको सपना बुन्नुअघि हाम्रो कृषि क्षेत्रका विद्यमान समस्यामाथि बहस गर्न आवश्यक देख्छु ।’
पुण्य माछापालक र भुरा उत्पादक किसानलाई आफूले सिकेको जानकारी बाड्न सधै विभिन्न ठाउँमा पुगेर ज्ञान बाडदै सक्रिय पनि छन् । कृषकहरूको जीवनमा परिवर्तन आओस् भन्ने उनको चाहना छ । ‘कृषि कर्म एवं पेशाको कमाइलाई सम्मान गर्नुपर्छ,’ उनी थप्छन्, ‘जसबाट सबैलाई अझै राम्रो गर्न र बन्न प्रेरणा मिल्छ ।’
माछा स्वास्थ्यका लागि धेरै लाभदायक भएकाले यसको प्रयोग गर्न सर्वसाधारणलाई प्रोत्साहन गर्नुपर्ने पुण्यको निष्कर्ष छ ।