
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले समाजवादी मोर्चामा रहेका दलबीच एकीकरण भएर एउटै पार्टी बन्ने सम्भावना रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो विस्तारित बैठकको आज उद्घाटनका अवसरमा उनले समाजवादी मोर्चा वर्तमान संसद्को अङ्कगणितका लागि मात्र नभएको स्पष्ट पारे। नेता पौडेलले विचार मिल्नेसँग सुरुआतमा मोर्चा बनाउने र पछि पार्टी एकीकरण गर्ने नीति माओवादीले लिएको बताए ।
उनले भने, “विपक्षीले समाजवादी मोर्चालाई संसद्को अङ्कगणितसँग मात्र जोडेर प्रचार गरेका छन् । मोर्चा संसद्को अङ्कगणित जोगाउन होइन । विचार मिल्नेसँग मोर्चा बनाउने, मिल्यो भने पार्टी एकीकरण गर्ने नीति हाम्रो हो । सोही नीतिअनुसार अहिले मोर्चा बनेको छ, भोलि मोर्चामा आबद्ध दलहरूबीच एकीकरण भएर एउटै पार्टी बन्न पनि सक्छ ।”
इन्चार्ज पौडेलले आगामी भदौ १६ गतेदेखि देशभर सुरु हुने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई प्रभावकारी बनाउने गरी खटिन नेता– कार्यकर्तालाई निर्देशन दिए ।