
सत्ता गठबन्धनले संसदीय समितिको सभापति राप्रपालाई पनि दिने भएको छ।
प्रतिनिधिसभामा रहेका १० सिटको नेकपा एस र १२ सिटको जसपाले भागबन्डामा एक/एक समितिको सभापति पाएपछि राप्रपाले पनि एउटा पाउने हो ।
‘राप्रपालाई पनि एउटा समितको सभापति दिने तयारी छ ।’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने ।
संसदीय सुनुवाइ विशेष समितिको नेतृत्व राप्रपालाई दिने तयारी भएको हो । यस अघि यो समिति कांग्रेसको भागबन्डामा परेको थियो । कांग्रेसबाट जीवन परियारलाई उम्मेदवार बनाउने चर्चा भएको थियो । तर राप्रपालाई पनि विश्वासमा लिने रणनीतिअनुरुप सत्तारुढ दल एउटा समिति दिन तयारी भएका हुन् ।
केन्द्रीय सत्ता समीकरणमा पनि आवश्यक पर्दा साथ लिन र कोशी प्रदेशमा सत्तारुढ दलको सरकार बनाउन पनि राप्रपालाई विश्वासमा लिने नीतिमा सत्ता गठबन्धन दल लागेका छन् । कोशीमा राप्रपाले सत्ता गठबन्धनलाई सहयोग गरे सहजै सरकारले आवश्यक बहुमत प्राप्त गर्न सहजता हुनेछ । कोशीमा राप्रपाका ६ सांसद छन् । कोशीमा राप्रपाका ६ सांसद थपिए सत्ता गठबन्धनले ५२ सिट पुर्याउन सक्नेछ ।
कांग्रेस स्रोतले पनि राप्रपालाई विश्वासमा लिन समितिको सभापति दिने तयारी भएको जानकारी दियो । ‘संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने भन्ने छ । तर हाम्रो भागमा परेको यो समितिमा जीवन परियार नउठ्ने भन्ने भयो । कांग्रेस स्रोतले भन्यो ।
संसदीय समितिमा कांग्रेसले ४, एमालेले ३, माओवादीले २, नेकपा एस, जसपा र जनमतले एकएक वटा सभापति लिने समझदारी भएको छ ।