
सत्ता गठबन्धनले संसदीय समितिमा राप्रपालाई पनि भागबन्डा दिएर कोशी सरकार जोगाउने रणनीतिक बनाएका छन् ।
सत्ता गठबन्धनको सहमतिमा माओवादीले पाएको संसदीय समितिको सभापति राप्रपालाई दिएर कोशीमा बहुमत पुर्याउन राप्रपाका दीपक सिंहलाई पूर्वाधार विकास समितिको सभापति बनाउने भएको हो ।
यसै तयारीलाई मूर्तरूप दिन माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिको उम्मेदवारीबाट माओवादीका माधव सापकोटा फिर्ता भएका छन् ।
गठबन्धनले यस्तो गर्नुका पछाडि कोशीको सरकार टिकाउने स्वार्थ जोडिएको देखिएको छ । यसैले सापकोटाले उम्मेदवारीबाट पछाडि हट्दै सिंहको समर्थक आफैं बसेका हुन् ।
प्रतिनिधिसभामा रहेका १० सिटको नेकपा एस, १२ सिटको जसपा र ६ सिटको जनमतले पनि भागबन्डा पाउँदा राप्रपा छुटेको थियो ।
तर कोशीमा सरकारलाई विश्वासको मत प्राप्त हुनै सकस देखिएपछि राप्रपालाई पनि सत्तारुढ दलले फकाउने नीति लिएका हुन् ।
‘राप्रपालाई पनि एउटा समितिको सभापति दिने सहमतिको नजिक पुगेका छौं ।’ कोशीमा कांग्रेसबाट मुख्यमन्त्री भएका उद्धव थापालाई विश्वासको मत पाउनै सकस देखिएको छ । मात्रै एक भोटले विश्वासको मत नपाउने भएपछि सत्ता गठबन्धनले कोशीमा ६ सिट भएको राप्रपालाई फकाएका हुन् ।
अहिले कांग्रेसका मुख्यमन्त्रीलाई सहयोग जस्तो देखिए पनि केन्द्रमा पनि राप्रपासँग मिल्ने बाटो प्रधानमन्त्री प्रचण्डलाई देखिएको छ । किनकि जसपा र नेकपा एसले असन्तुष्टि राखे राप्रपालाई सरकारमा भित्र्याउने चेतावनी प्रधानमन्त्रीले दिँदै आएका छन् ।
कोशीमा ६ सिटको राप्रपाले सत्ता गठबन्धननलाई सहयोग गरे सहजै बहुमत पुग्छ ।
कांग्रेस सचेतक सुशीला थिङले पनि माओवादीको भागमा परेको समितिको सभापति राप्रपालाई दिएको बताइन् । ‘हाम्रो भागमा परेको होइन माओवादीले नै राप्रपालाई एउटा समितिको सभापति दिने तयारी गरेको छ ।’ थिङले भनिन् ।
कोशीमा राप्रपाले सरकारलाई सघाए उसलाई सभामुखसमेत दिने तयारी सत्ता गठबन्धनको रहेको बुझिएको छ ।