२४ जेठ २०८३, आइतबार

पहिरोले काहुँखोला–सिक्लेस खडक एक सातादेखि अवरुद्ध, आवागमनमा सास्ती

भदौ ११, २०८०
कास्की
पहिरोले काहुँखोला–सिक्लेस खडक एक सातादेखि अवरुद्ध, आवागमनमा सास्ती

कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिरोले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । 

एकसातादेखि सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ । मादी–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले निरन्तररूपमा पानी परिरहेकाले सडक सञ्चालनमा समस्या भएको बताए । पहिरो खस्ने क्रम नरोकिएकाले पानी पर्न बन्द भएपछि मात्रै सडक सञ्चालनका लागि पहल गरिने उनले बताए । 

'पहिरो निरन्तर खसिरहेको छ । पटकपटक पहिरो पन्छाएर सडक सञ्चालन गरे पनि पुनः पहिरो खसेर सडक अवरुद्ध हुँदा पालिकाको स्रोतसाधन मात्र खर्च भएपछि तत्काल पहिरो पन्छाउने काम गरेका छैनौँ,' भने, 'पानी पर्न बन्द भएपछि मात्र सडक सञ्चालनको पहल गर्ने योजनामा छौँ । अहिले पहिरो पन्छाउँदा थप दुर्घटना हुन सक्ने भएकाले यात्रुलाई सवारी परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएका छौँ ।'

सडक अवरुद्ध भएकाले यात्रुले गन्तव्यमा पुग्न दुई वटा गाडी परिर्वतन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । पहिरो गएको स्थानसम्म पोखराबाट गएर झोलुङ्गे पुल हुँदै १० मिनेटको बाटो हिँडेपछि अर्को सवारी साधनमा चढेर गन्तव्यमा पुग्ने अवस्था मिलाइएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिराले ७० मिटर जति सडकमा क्षति पुर्‍याएको छ । पहिरो पन्छाएर सडक सञ्चालनका लागि गाउँपालिकाले जनशक्ति तथा अन्य आवश्यक सामग्री र लागत तयारी अवस्थामा राखेको उनले जानकारी दिए । 

पोखराको काहुँखोलादेखी सिक्लेस ४२ किमीको दूरीमा पर्दछ । पहिरोका कारण मादीका उत्तरी गाउँ चिप्ली, खिलाङ, पार्चे र सिक्लेसका नागरिक समस्यामा परेका छन् । सवारी साधनमा काँहुखोला, कसेरी, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ । सिक्लेस पर्यटकीय हिसाबले पनि प्रख्यात छ । गुरुङ संस्कृतिको अध्ययन तथा अवलोकनका लागि पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्