
नेपाली कांग्रेसले आफ्नो पार्टीका संस्थापक नेतासमेत दरहेका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मदिन भाद्र २४ लाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।
कांग्रेसले ११० औँ बिपी जन्मजयन्तीमा यसपटक बिपी साहित्य महोत्सव कार्यक्रम गरी मनाउने भएको छ । कांग्रेसले यही भदौ २४ देखि २६ सम्म बिपी स्मृतिभवन सानेपा, ललितपुरमा केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा तीन दिने उक्त महोत्सव गर्न लागेको जानकारी कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिए ।
कार्यक्रममा मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी सत्र चल्नेछन् । त्यस्तै, बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, उनले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेका बिपी सत्रका कार्यक्रम पनि हुनेछन् ।
त्यस्तै, कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, र ऐतिहासिक फोटो प्रदर्शनी गर्ने कार्यक्रम पनि छ ।
बिपीका नाममा यस्तो कार्यक्रम पहिलोपटक आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसले ऐतिहासिक साहित्य महोत्सवमा उपस्थित हुन प्राज्ञिक तथा विद्वान वुद्धिजीवी, अध्येता, एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्नेहरूलाई अनुरोध गरेको छ । कार्यक्रमको तालिका छिट्टै सार्वजनिक घोषणा गरिने पनि कांग्रेसले जनाएको छ ।