
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् । मंगलवार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताएका हुन् ।
प्रशिक्षणमा प्रधानमन्त्रीले भने, 'देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ। त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ। जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ।'
नक्कली भुटानी शरणार्थीदेखि सुन तस्करीको जालो तोड्ने काम अगाडि बढेको भन्दै यो यहीँ नरोकिने उनले बताए । 'नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिनेवाला छैन,' उनले भने, 'भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।'
परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न नसक्ने भन्दै यसमा गुणात्मक रूपान्तरण जरूरी रहेको उनले बताए । असफल भएको विकास मोडललाई सधै बोकेर हिँड्न नसकिने बताउँदै अर्को बजेटसम्म आउँदा नयाँ अर्थनीति र योजनाका साथ अगाडि जाने उनले बताए ।