
क्रिकेटमा विश्व नम्बर १ को स्थान कब्जा गरिरहेको पाकिस्तानले बुधबारदेखि सुरु भएको एसिया कपमा धमकेदार सुरुवात गरेको छ । पाकिस्तानी टिमले पहिलो पटक प्रतियोगितामा सहभागी भएको नेपालविरुद्ध २३८ रनको सानदार जित हासिल गरेको हो । एसिया कप इतिहासमा पाकिस्तानको लागि यो हालसम्मकै सानदार जित हो ।
मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३४२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले २३.४ ओभरमा अलआउट हुँदै जम्मा १०४ रन बनायो ।
पाकिस्तानको सानदार जितमा बाबर आजम, इफ्तिखार अहमद र शादाब खान नायक रहे ।
भारी रनको यो जितको रेकर्ड एसिया कपको पुरा इतिहास केलाउँदा भने दोस्रोमा पर्छ । सबैभन्दा फराकिलो जितको रेकर्ड भारतको नाममा छ । भारतले सन् २००८ मा हङकङलाई २५६ रनले हराएको थियो ।
पाकिस्तानकै हकमा भने यो हालसम्मकै फराकिलो जित हो । यसअघि पाकिस्तानले बंगलादेशलाई सन् २००० मा २३३ रनले हराएको थियो ।
यस्तै समग्रमा वान डे इतिहासको यो तेस्रो सर्वाधिक सानदार जित हो । पाकिस्तानले सन् २०१६ मा आयरल्यान्डलाई २५६, २०१८ मा जिम्बाब्वेलाई २४४ रनले हराएको थियो ।
किन हार्यो नेपाल ?
पहिलो पटक एसिया कप खेलिरहेको नेपालको अन्तर्राष्ट्रिय जगतमा चर्चा पनि भइरहेको छ। गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले नेपालले एसिया कपमा सहभागिता जनाएको हो ।
भारतीय र केही क्रिकेटसँग सम्बन्धित मिडियाहरूले मुख्यतः पाकिस्तानसँगको खेलमा नेपाली खेलाडीमा अनुभवकै कमी देखिएको टिप्पणी गरेका छन् । नेपाली टिम तीन वटै क्षेत्र बलिङ, ब्याटिङ र फिल्डिङमा फिक्का देखिएको टिप्पणी गरेका हुन् ।
सुरुमा उत्कृष्ट फिल्डिङ गर्दै नेपाली टोलीले पाकिस्तानी खेलाडीहरूलाई दबाब दिन सफल भएका थिए । तर, त्यसपछि पाकिस्तानले खेल सुधार्यो । सम्हालिएर खेल्दै पाकिस्तानी कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतकको योगदान दिए । उनीहरुकै शतकको मद्यतमा पाकिस्तानले ३४२ रन बनाउन सक्यो ।
पहिलो, नेपालले मिडल आवर्समा विकेट लिन सकेन भने दोस्रो विशाल योगफल पछ्याउने क्रममा खराब सुरुवात हुन पुग्यो । यस्तै विश्व नम्बर एकको ताज बोकिरहेको पाकिस्तानको बलिङ नेपाली ब्याट्सम्यानले सहीरुपमा सामना गर्न सकेनन् । जुन हारको कारण बन्न पुग्यो ।