काठमाडौं, ३ असोज— सोमबार प्रदेश नम्बर २ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतपरिणाम पाँच दिनभित्र आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतगणना सुरु भएको पाँच दिनभित्र सबै परिणाम आउने बताए ।
प्राप्त जानकारी अनुसार मतपेटिका संकलनसँगै बारा, धनुषा, रौतहट, महोत्तरी र सिरहाका विभिन्न स्थानीय तहमा मध्यरातदेखि नै सुरु मतगणना गरिएको छ ।
बारामा मध्यरातीदेखि ७ स्थानीय तहमा मतगणना सुरु गरिएको छ । जितपुर उपमहानगरपालिकासहित ७ स्थानीय तहमा मतगणना सुरु भएको हो । यस्तै धनुषाका २ स्थानीय तहमा पनि मतगणना सुरु गरिँदा रौतहटमा १८ स्थानीय तहमध्ये ११ तहमा मध्यरातदेखि नै मतगणना सुरु भएको खबर प्राप्त भएको छ ।
यता महोत्तरीको जलेश्वर, मटेहानी गौशाला, रामगोपालपुर गरी ६ स्थानीय तहमा मतगणना सुरु भएको छ । यस्तै सिरहाको अधिकांश स्थानीय तहमा पनि मतगणना सुरु भएको छ ।