
भोलि (शनिवार) काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घन्टा विद्युत अवरुद्ध हुने भएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत् चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले टेकू तथा के-थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. मा चार्ज गर्नेगरी कार्य भइरहेको छ।
के-थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।
वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने प्राधिकरणले जनाएको छ ।
