
६०.७१६ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने म्याद नजिकिँदै गर्दा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विदेश पुगेर समेत अनुसन्धानलाई तीव्रता दिएको छ ।
असार २ गते हङकङबाट नेपाल आएको ६० किलो सुन प्रकरणमा सीआईबीले एसएसपी दिनेश अचार्यलाई हङकङ पठाएर अनुसन्धान गरिरहेको छ । सीआईबीका अधिकारीहरूका अनुसार एसएसपी आचार्यले सुन प्याकिङ भएको भनिएको स्थल र त्यहाँबाट नेपालसम्म कसरी आइपुग्यो भन्ने कुराको अनुसन्धान गरेर फर्किने छन् ।
‘उहाँले त्यहाँ रहेका नेपाली र सुरक्षा निकायहरूको सहयोगमा अनुसन्धान गर्नुहुन्छ,’ सीआईबीका एक अधिकारीले लोकान्तरसँग भने ।
उनलाई सीआईबीले साउन १२ गते राति हङकङ पठाएको थियो ।
हङकङबाट नेपाल हुँदै भारतमा सुन जाने गरेको अनुसन्धानमा देखिएपछि त्यहाँको अनुसन्धान लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वमा एउटा टोली पठाइएको छ ।
भारतमा एसएसपी उमाप्रसाद चतुर्वेदीले उनीहरूलाई सहयोग गर्नेछन् ।
यस प्रकरणमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई सहयोग गरेको तथा सुन तस्करीमा भूमिका खेलेको अभियोगमा भारतबाट सिन्धुपाल्चोक घर भएका किशोर बस्नेतलाई सीआईबीले नेपाल ल्याएको छ ।
राजस्व अनुसन्धान विभागले असार २ गते भन्सार पास भएर आएको मोटरसाइकल र स्कूटरको ‘ब्रेक शु’ मा ६०.७१६ सुन बरामद गरेको थियो । यस प्रकरणमा १८ जनालाई पक्राउ गरेर विभागले अनुसन्धान सीआईबीलाई सुम्पेको थियो ।
विभाग र सीआईबीद्वारा २५ जना पक्राउ
विभागले यस प्रकरणमा दोलखाको मेलुङ गाउँपालिका– ३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका– ४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जिक्वाङ लिन, राजन श्रेष्ठ, ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (विमानस्थल भन्सार कार्यालय) कुमार ढकाल, नायब सुब्बा (भन्सारमा एक्सरे हेर्ने) सरोज श्रेष्ठ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप) सुरेन्द्र तामाङ र बेल्जियम नागरिक दावा छिरिङलाई विभागले पक्राउ गरेको थियो ।
असार ३२ गते सीआईबीले चिनियाँ नागरिकहरू टियान मी, वेन टोङ, डियाङ से फा र ली नेङकाइलाई पक्राउ गरेको थियो ।
भदौ १३ गते भारतबाट किशोर बस्नेत र ११ गते भन्सार अधिकृत कर्मचारी गणेश पौडेललाई पक्राउ गरेको थियो ।
पक्राउ परेका भन्सार अधिकृत पौडेल मूल्यांकन शाखामा कार्यरत थिए । उनको सुन तस्करहरूसँग 'कनेक्सन' देखिएको छ । किशोर बस्नेतले दावाको मुख्य सहयोगीका रूपमा काम गर्दै आएका थिए ।
सीआईबीका अधिकारीहरूका अनुसार उनले ब्रेक शु, ब्रेक प्याड, सेभिङ रेजर लगायतका 'इलेक्ट्रोनिक्स' सामानहरू हङकङबाट मगाउने गरेका थिए ।
बोल्दै बोल्दैनन् चिनियाँ
सीआईबीले पक्राउ गरेका चिनियाँ नागरिकहरूले सहयोग नगर्दा अनुसन्धानमा अप्ठ्यारोमा परेको छ ।
सीआईबी स्रोतका अनुसार पक्राउ परेका चिनियाँले नेपाली भाषा र अंग्रेजी जानेर पनि नबोलेका हुन् । त्यसले गर्दा अन्य को–को व्यक्ति संलग्न छन् भन्ने कुरा पत्ता लगाउन पनि समस्या देखिएको छ ।
‘प्रमाणले भेटेकाहरूको मात्रै अनुसन्धान गर्न सकिएको छ । चिनियाँहरू जाने पनि अन्य भाषा बोल्दैनन्, त्यसले गर्दा को–को छन् भन्ने 'कनेक्सन' खोज्न गाह्रो भइरहेको छ,’ सीआईबीका एक अधिकारीले लोकान्तरसँग भने ।
अर्का एक चिनियाँसँग पनि भेटियो नेपाली नागरिकता
प्रहरीले फेरी एकजना चिनियाँ नागरिकसँग काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकता फेला परेको छ ।
चिनियाँ नागरिक ओ पुचेङ्गुको साथबाट नेपाली नागरिकता र भारतीय आधार कार्ड फेला परेको सीआईबीका एक अधिकारीले बताए ।
यो सँगै पक्राउ परेकामध्ये ५ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । दावा छिरिङले नेपाली नागरिकता लिएको यसअघि नै पुष्टि भएको थियो ।