
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अर्थमन्त्री प्रकाशशरण महतसँग छलफल गरेको छ । अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वको प्रतिनिधि मण्डलले अर्थमन्त्री महतसँग अटोमोवाइल क्षेत्रका समस्या लगायतका विभिन्न विषयहरूमा छलफल गरेको हो ।
छलफलमा नाडाका अध्यक्ष थापाले सदैव समस्याको रुपमा देखा पर्दै आएको सन्दर्भ मूल्य सूचीका विषयमा तत्काल सरोकारवाला निकायहरूसँग आवश्यक सल्लाह गरेर यथार्थपरक मूल्य कायम गर्न अनुरोध गरेका थिए ।
छलफलमा अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुनर्तालिकीकरको व्यवस्था, बैंक तथा वित्तीय निकायहरूलाई अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने माग गरेका थिए ।
यस्तै उनले बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टू भ्यालु रेसयिोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका लागि अनुरोध गरेका थिए ।
यस्तै, अध्यक्ष थापाले चालू पुँजी कर्जाको विषयमा नाडाले भोगेको समस्या पनि अर्थमन्त्री समक्ष जाहेर गरेका थिए ।
छलफलको अन्त्यमा मन्त्री महतले समस्याहरूका सम्बन्धमा आफू जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिएका थिए ।
भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी तथा निशान ढकाल लगायतको उपस्थिति रहेको थियो ।