काठमाडौं, ३ असोज– स्थानीत तह तेस्रो चरणको चुनावअन्तर्गत दुई नम्बर प्रदेशमा सोमवार सम्पन्न मतदान पछि सोमबार रातिदेखि अहिलेसम्म ७० स्थानीय तहको मतगणना शुरु भएको छ ।
८ जिल्लाका १३७ स्थानीय तहमा मतदान भएपनि मंगलवार विहानसम्म ७० वटा स्थानीय तहमा मात्रै मतगणना शुरु भएको निर्वाचन अयोगले जनाएको छ ।
बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि शुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ ।
सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको ।
राजविराज नगरपालिकाको वडा नं. १५ का लागि राष्ट्रिय जनता पार्टी (राजपा)बाट वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुने छ ।