
सर्वसम्मत नेतृत्व चयन प्रयास सम्भव नदेखिएपछि नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशनमा फारम वितरण शुरू भएको छ । अध्यक्षमा आकांक्षी राधाकृष्ण कँडेल (आरके) र हरि रिजाल दाबेदार छन् ।
अन्य पदमा भने आकांक्षीहरू नाम अझै दुवै समूहले बाहिर ल्याइसकेका छैनन् । उम्मेदवारहरूलाई मनोनयन दर्ताको फारम वितरण गरिएको केन्द्रीय निर्वाचन आयोग सदस्य भरत पोखरेलले जानकारी दिए ।
एमाले प्रचार विभाग रुपन्देहीका उपप्रमुख अमृत गिरीले सर्वसम्मतिको प्रयास जारी राख्दै निर्वाचनको प्रक्रिया अघि बढेको जानकारी दिए । फारम वितरण भए पनि मनोनयन दर्ता गर्ने बेलासम्म आपसी सहमति कायम हुन सक्ने सम्भावना रहेको गिरीले जानकारी दिए ।
मतदानबाट नयाँ नेतृत्व चयन हुने अवस्था आए भोलि निर्वाचन हुने बताइएको छ । उम्मेदवारहरूले फारम लगेर भर्न थालेका छन् ।
पाल्पाका कँडेल एक वर्ष अघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने प्यूठानका रिजाल केन्द्रीय सदस्य हुन् । कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको साथ देखिएको छ भने, रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।
यो अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । १२ जिल्लाबाट जिल्लागत रुपमा १८६, अपांगबाट एक, मजदुरबाट ३ र खुल्लाबाट पदाधिकारीसहित १५ जना चयन हुँदैछन् ।
जसअनुसार १२ वटै जिल्ला कमिटीहरूले सहमतिमा नाम पठाउन अलग–अलग बैठक शुरू भएका छन् । यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरूको पनि निर्वाचन हुनेछ । पदाधिकारी ५ जना हुनेछन् ।