२७ जेठ २०८३, बुधबार

आर्थिक संकटबीच सिरियाली बालबालिका विद्यालय फर्कंदै

भदौ १८, २०८०
काठमाडौं
आर्थिक संकटबीच सिरियाली बालबालिका विद्यालय फर्कंदै

युद्ध, विनाशकारी भूकम्प र गहिरो आर्थिक सङ्कटको सामना गर्दै सरकार नियन्त्रित क्षेत्रमा रहेका करिब ४० लाख सिरियाली विद्यार्थी विद्यालय फर्केका छन् । 

सिरियाको शिक्षा मन्त्रालयले विद्यालयहरूलाई आवश्यक लगानी कम गर्न, ‘विद्यालय पोशाकका लागि कडा नियम लागू नगर्न आग्रह गरेको समाचार संस्था, सानाले जनाएको छ । 

सानाले भनेको छ, “देशले सामना गरिरहेको कठिन आर्थिक अवस्थालाई ध्यानमा राख्दै र जनसङ्ख्यामा वित्तीय बोझ कम गर्ने प्रयासको एक भागको रूपमा यी उपायहरू प्रस्तुत गरिएको छ ।” 

संयुक्त राष्ट्रसङ्घका अनुसार धेरै शैक्षिक सुविधाहरू क्षतिग्रस्त वा नष्ट भएको र ९० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको देशमा धेरै बालबालिकालाई राख्ने कक्षाकोठा समेतको अभाव छ ।

करिब ३७ लाखभन्दा बढी विद्यार्थीका लागि १४ हजार ५०५ विद्यालयबाट पठनपाठन गराउने गरी शैक्षिक सत्र २०२३/२०२४ सुरू भएको छ । 

सिरियामा सन् २०११ पछि भएको रक्तपातपूर्ण द्वन्द्वका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ, लाखौं मानिस विस्थापित भएका छन् । देशलाई आर्थिक सङ्कटमा धकेलेको छ । 

युद्धले शैक्षिक पूर्वाधारको व्यापक विनाश गरेको छ । जसले गर्दा शैक्षिक सुविधाहरूमा असर पारेको छ, धेरै विद्यालय भवनहरू भत्किएका छन् र कैयौं आश्रयस्थलहरूमा परिणत भएका छन् । 

विद्यालय जाने उमेरसमूहका एक तिहाइ अर्थात् करिब २४ लाख बालबालिका विद्यालय गएका छैनन् भने अन्य १६ लाख बालबालिका विद्यालय छाड्ने जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । 

वर्षौंको युद्ध र पश्चिमा प्रतिबन्धका कारण आफ्नो क्रयशक्तिमा आएको भारी कमीका कारण आफ्नो आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका आफ्ना परिवारलाई सहयोग गर्न धेरैले विद्यालय छोड्न बाध्य भएका छन् । 

सिरियाको सरकारी सेनाले वर्षौंको लडाइँपछि देशका अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरेको छ तर सिरियाका १४ मध्ये सात वटा प्रान्तका क्षेत्र दमास्कसको नियन्त्रणभन्दा बाहिर छन् । 

देशको उत्तरपूर्वी क्षेत्रमा अर्धस्वायत्त कुर्द प्रशासनद्वारा नियन्त्रित क्षेत्रहरूमा आइतबार पनि विद्यालय वर्षको सुरुवात भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्