
‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत देशभरका विभिन्न ठाउँमा साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरूसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्नेगरी ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको हो । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरू निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको जनाएको छ ।
प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ ।
यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।
प्राधिकरणले धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वका मठमन्दिर र पर्यटकीय क्षेत्रहरूमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरिएपछि विद्युत् नपुगेको ठाउँको विद्युतीकरण र शहरी सौन्दर्यलाई वृद्धि गर्न स्थानीय तहहरूसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम शुरू गरिएको बताए ।
‘घरघरमा विद्युत् बालेर मात्र नहुने रहेछ, शहरी सौन्दर्यता तथा सुरक्षाका लागि सडक पनि उज्यालो हुनु पर्ने रहेछ । त्यसैले स्थानीय तहहरको साझेदारीमा कार्यक्रम शुरू गरिएको हो । अहिल देशभरका स्थानीय तहहरूबाट सडक बत्ती जडानको माग आइरहेको छ’, उनले भने, ‘अहिले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित काम गरिरहेका छौं ।’
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि फिडर प्यानलहरू जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मरहरू जडान गरिएका छन् ।
स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महशुललको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युत्को महशुल सम्बन्धित पालिकाहरूले तिर्ने छन् ।
ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ ।
भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको छ । काठमाडौंसहित ३ महानगरपालिका, ३ उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ । सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खू सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान शुरू गर्न लागिएको छ ।
सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी लगानी साझेदारी रहने छ । उपमहानगरपालिकामा सम्बन्धित उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहने छ ।
नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहने छ । यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्ने छ ।
लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्ने छ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्ने छ । नगरपालिकाहरूले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।
पोखराका स्मार्ट सडक बत्ती उद्घाटन
नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन शुरू भएको छ । ‘उज्यालो पोखरा अभियानअन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकहरूमा जडान गरिएका हाइमास्ट र सडकमा बत्तीको उद्घाटन गरिएको छ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पोखराको नयाँ सडकमा गरिएको कार्यक्रममार्फत जडान गरिएका हाइमास्ट र सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख आचार्यले सडक बत्तीले पोखराको सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाएको बताए । उनले बाँकी स्थानमा सडक बत्ती जडानका लागि दोस्रो चरणको कार्यक्रम शुरू गरिसकिएको उल्लेख गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सडक बत्तीले पोखराको सौन्दर्यलाई अझै सुन्दर बनाउन र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग पुग्ने बताए । उनले सडक बत्तीको मर्मतसम्भारमा विशेष ध्यान दिन आग्रह गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पोखराको सौन्दर्यवृद्धिका लागि विद्युतीय तारलाई भूमिगत गर्ने कार्य भइरहेको बताए ।
पोखरा महानगरपालिका र प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरूमा १६ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक २३ वटा हाइमास्ट लाइट जडान गरिएको छ ।
महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार सात वटा सडक बत्ती जडान गरिएको छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १२० वाटका स्मार्ट बत्ती रहेका छन् । सडक बत्ती जडान अयोजनाको लागत १४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महशुल तिर्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि ३२ वटा फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ ।
सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युत्को महसशुलको बिलिङ गरिन्छ ।
महशुल महानगरपालिकाले तिर्ने छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । जडान गरिएका बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्ने छ । सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा रहेको छ ।