२९ जेठ २०८३, शुक्रबार

विरोधसभालाई व्यवस्थित र प्रभावकारी बनाउन राप्रपाद्वारा मुल समिति गठन

भदौ १८, २०८०
काठमाडौं
विरोधसभालाई व्यवस्थित र प्रभावकारी बनाउन राप्रपाद्वारा मुल समिति गठन

राप्रपाले भदौ २७ गते काठमाडौंमा गर्ने विरोध सभालाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष, पूर्वमन्त्री विक्रमबहादुर थापाको अध्यक्षतामा उपत्यकाव्यापी बृहत विरोध सभा आयोजक मुल समिति गठन गरेको छ। 

पार्टी केन्द्रीय कार्यालयमा आज अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा बसेको बैठकले थापाको संयोजकत्वमा समिति गठन गरेको हो ।

 समितिको सदस्य सचिवमा प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाही रहनुभएको छ। यसैगरी उपत्यकाबाट प्रतिनिधित्व गर्ने पार्टीका पदाधिकारी एवं सदस्यहरु, बागमती प्रदेशका १३ जिल्लाका जिल्ला अध्यक्षहरु, सम्पर्क समाज समन्वय विभागका प्रमुख, प्रवक्ता गोपाल दाहाल र सबै भातृ संगठनका अध्यक्षहरु मूल समितिको सदस्य रहेका छन् । 

राप्रपाको आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले गौवंश हत्याको विरोध गर्न, गौवंश हत्याको विरोधमा विभिन्न संघसंस्थाबाट देशभर भइरहेका प्रदर्शनमा समर्थन र ऐक्यबद्धता प्रकट गर्न, सामाजिक सदभाव कायम गर्न, हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको आवाजलाई बुलन्द बनाउन, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचार काण्डको पूर्ण छानबिन गर्न, शिथिल अर्थतन्त्रमा सुधार गरी स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न, महंगी नियन्त्रण गरी आम जनतालाई राहत प्रदान गर्न र जनजीवन सहज बनाउन सरकारलाई दबाब दिन भदौ २७ गते काठमाडौंमा बृहत विरोध सभा आयोजना गर्ने निर्णय गरेको थियो ।
मुल समितिको बैठक मंगलबार अपरान्ह १।०० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

salt training

कमेन्ट गर्नुहोस्