
बुधवार दिउँसो रिपोर्टर्स क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँगै राप्रपा महामन्त्री डा. धवल शमशेर जबरा उपस्थित थिए ।
शुरूमा धवल शमशेरले भाषण गरे । धवलले भाषण गर्दै गर्दा त्यहीँ उपस्थित नुवाकोटका श्यामबहादुर सापकोटाले ताली बजाएका थिए ।
धवलपछि बोल्ने पालो आयो महेन्द्र यादवको । यादवले बोलेपछि सापकोटाले उनलाई प्रश्न समेत गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
कांग्रेसको सरकारले देशका कलकारखाना बेचेको आरोपसहित सापकोटाले सोधेको प्रश्नको यादवले कुनै जवाफ दिएनन् ।
कार्यक्रम सकिएपछि नेताहरू बाहिरिए । कार्यक्रमबाट बाहिँरिदै गर्दा सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका हुन् ।
महेन्द्र यादवसँगै कार्यक्रम स्थल पुगेका प्रत्यक्षदर्शी धनुषाका जोगी यादव र विजयकुमार यादवका अनुसार सापकोटाले खुकुरीमार्फत पहिलोपटक प्रहार गर्दा गम्छामा लागेको थियो । दोस्रोपटक प्रहार गर्दा टाउकोमा लागेको हो ।

खुकुरी हान्ने सापकोटालाई प्रहरीले तत्कालै पक्राउ गर्यो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार सापकोटाले आफू राजावादी भएको बताएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार पनि उनले पक्राउ पर्ने बेला राजतन्त्र जिन्दावादको नारा लगाएका थिए ।
जोगी यादव र विजयकुमार यादवले सह–महामन्त्री यादवलाई तत्काल वीर अस्पतालमा पुर्याएका थिए । वीरले ट्रमा सेन्टर जान भनेपछि यादव हिँडेरै त्यहाँबाट ट्रमासम्म पुगेका थिए ।
टाउकोको पछाडि चोट लागेका यादवको उपचार भइरहेका छ । उनी खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो ।

यादवको स्वास्थ्य स्थिति बुझ्न कांग्रेसका नेता कार्यकर्ता ट्रमा सेन्टर पुगेका छन् ।