
अजेन्टिनी फुटबल संघ (एएफए)का अध्यक्ष क्लाउडियो टापियाले लियोनल मेसीले सन् २०२६ को विश्वकप खेलेर सबैलाई ‘सरप्राइज’ दिने बताएका छन् ।
उनले एउटा कुराकानीमा यस्तो बताएको एएफएको वेब साइट मुन्डो अल्बिसेलेस्टेले जनाएको छ ।
‘उ (मेसी) जहिल्यै अझ धेरै माथि जान चाहन्छ । उसले राष्ट्रिय टोलीलाई यति चाँडै छोड्ने छैन । उसले सधैँ तपाईं–हामीलाई सरप्राइज दिन चाहन्छ,’ उनले भने, ‘म पनि मेसीले २०२६ को विश्वकप खेलेको हेर्न चाहन्छु । फिटनेस हेर्दा उसले सजिलै अर्को विश्वकप खेल्न सक्छ ।’
कप्तान मेसी अहिले विश्वकप र कोपा अमेरिका जितेपछि टोली र साथी खेलाडीहरूसँग पनि खुसी रहेको टापियाले बताए ।
विश्वविजेता अर्जेन्टिनाले यही सेप्टेम्बरमा इक्वेडर र बोलिभियाविरुद्ध विश्वकप छनोटका सुरुवाती दुई खेल खेल्दैछ ।
अर्जेन्टिनाले पहिलो खेल इक्वेडरसँग घरेलु मैदानमा ७ तारिखमा तथा बोलिभियासँग १२ तारिखमा अवे मैदानमा खेल्दैछ ।
अमेरिकी क्लब इन्टर मायमीमा आबद्ध मेसी विश्वकप छनोट खेलको तयारीका लागि अहिले अर्जेन्टिनामा छन् ।
विश्वकप सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडामा हुँदैछ ।
यता, मेसीले भने अघिल्लो वर्ष कतारमा भएको विश्वकप नै आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन् ।