
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बुधवार दिउँसो रिपोर्टर्स क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँगै राप्रपा महामन्त्री डा धवल शमशेर जबरा उपस्थित थिए ।
शुरूमा धवल शमशेरले भाषण गरे । धवलले भाषण गर्दै गर्दा त्यहीँ उपस्थित नुवाकोटका श्यामबहादुर सापकोटाले ताली बजाएका थिए ।
धवलपछि बोल्ने पालो आयो महेन्द्र यादवको । यादवले बोलेपछि सापकोटाले उनलाई प्रश्न समेत गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
कांग्रेसको सरकारले देशका कलकारखाना बेचेको आरोपसहित सापकोटाले सोधेको प्रश्नको यादवले कुनै जवाफ दिएनन् ।
कार्यक्रम सकिएपछि नेताहरू बाहिरिए । कार्यक्रमबाट बाहिँरिदै गर्दा सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका हुन् ।
महेन्द्र यादवसँगै कार्यक्रम स्थल पुगेका प्रत्यक्षदर्शी धनुषाका जोगी यादव र विजयकुमार यादवका अनुसार सापकोटाले खुकुरीमार्फत पहिलोपटक प्रहार गर्दा गम्छामा लागेको थियो । दोस्रोपटक प्रहार गर्दा टाउकोमा लागेको हो ।
००००
नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री यादवमाथि भएको हमलाको निन्दा गरेको छ ।
कांग्रेसले बुधवार दिउँसो एक विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दासँगै भत्र्सना गरेको हो । ‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
००००
महेन्द्र यादवको टाउकोमा १० वटा टाँका लगाइएको छ । उनको टाउकोको पछाडीपट्टीको भागमा काटिएकाले १० वटा टाँका लगाइएको उपचारमा संग्लग्न डाक्टर प्रमोद यादवले जानकारी दिए ।
उपचाररत ट्रमा सेन्टरमा पुगेर सभापति शेरबहादुर देउवालगायतका नेताहरुले यादवको अवस्थाबारे जानकारी लिएका छन् ।
००००
कांग्रेस नेता यादवमाथि हमला गर्ने व्यक्ति राजावादी भएको खुलेको छ । उनले आक्रमणपछि राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए ।
००००
वर्षा र सहकालका रुपमा प्रख्यात रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कार्य सुरु भएको छ वर्ष बितिसक्दा सम्पन्न भएको छैन । ललितपुर उपमहानगरपालिका–२२ बागमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई विसं २०७२ को भूकम्पले ढालेको थियो ।
००००
भक्तपुरमा गत भदौ १४ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व तलेजुको पूजा गरेपछि सम्पन्न भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
००००
नेकपा एकता राष्ट्रिय अभियानले केन्द्रीय समिति बैठकको निर्णयहरू सार्वजनिक गरेको छ । बु्धवार रिपोर्टर्स क्लबमा एक पत्रकार सम्मेलन आयोजना गरी अभियानले गत भदौ १७ र १८ गते भएको केन्द्रीय समिति बैठकको २२ बुँदे निर्णय सार्वजनिक गरेको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ ।
सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो ।
००००
पाकिस्तान र श्रीलंकामा जारी एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बुधबार स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ ।
००००
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ बिहीबार मनाइएको छ ।
यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित गोठाटारमा रहेको नवतनधामलगायतमा भक्तजनको घुइँचो लागेको थियो ।
००००
सप्तकोशी पुलमा कार छोडेर बेपत्ता डा प्रज्जवल कोइरालाको १० दिनपछि शव भेटिएको छ । दमक–१ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत ३२ वर्षीय सर्जन डा कोइरालाको शव मंगलबार अपराह्न फेला परेको हो।
००००
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन र बिस्तारका लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् ।
बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।