
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले पुराना पार्टी खराब हुन् भन्ने कृत्रिम भाष्य निर्माण गर्न पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको बताएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध आक्रमण गर्ने पूर्वतयारी स्वरूप आक्रमण भएको बताएका हुन् ।
‘जनता गणतान्त्रिक व्यवस्थासँग सहमत छैनन् भनेर कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टी खराब हुन् भन्ने कृत्रिम भाष्य निर्माण गर्न खोजिएको छ । व्यवस्थाविरुद्ध आक्रमण गर्ने पूर्व तयारीको रूपमा यो भाष्य निर्माण गर्दैछन्,’ लेखकले भने, ‘यस्ता भाष्य तयार गरेर संघीय लोकतान्त्रिक व्यवस्थाबाट विचलित हुने र भाग्ने कुरा छैन ।’
लेखकले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने प्रवृत्तिको खोजी गर्नुपर्ने बताए ।
‘खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्ने भ्रम छ भने त्यो त्याग्न म आग्रह गर्न चाहन्छु । कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित पर्वत हो । राणा, पञ्चायत र राजाले कांग्रेसविरुद्ध टाउको जुधाएका थिए, तर केही लागेन,’ लेखकले भने, ‘श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेको देखिएको छ, त्यो खुकुरी श्यामबहादुरको हातमा कसले पुर्यायो ? खुकुरी थमाउने प्रवृत्ति को हो ? यो प्रहार यहीँ रोकिन्छ कि, अगाडि बढ्छ ?’
महेन्द्र यादवमाथि आक्रमण ज्यान मार्ने नियतले भएको देखिएको ठहर कांग्रेसले गरेको लेखकले बताए । उनले घटना सामान्य नरहेको भन्दै संसद्को आगामी बैठकमा गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गरे ।